इटहरीः भारतबाट आउने मजदुर कोरोना संक्रमणका कारण नेपाल आउन नपाउँदा नेपालमा सञ्चालित इट्टा उद्योगहरु मजदुर अभावमा बन्द भएपछि पूर्वी नेपालको बजारमा इट्टाको मूल्य बढेको छ ।

इट्टा व्यवसायीहरुको सिन्डिकेट मूल्यवृद्धिको प्रमुख कारण रहेको पाइएको छ । सिन्डिकेट कायम गरी व्यवसायीले गरेको मूल्यवुद्धिबाट कोरोना महामारीका कारण संकटमा परेका आम उपभोक्ता व्यवसायीबाट समेत शोषित भएका छन् । आफूखुसी इट्टाको मूल्यवृद्धि गरेका व्यवसायीलाई सरकारले समेत मौन समर्थन गरेको छ । मूल्यवृद्धिको कारणबारे कुनै पनि सरोकारवाला सरकारी निकायले छानबिन नगरेको व्यवसायीहरुको भनाइ छ । प्रतिगोटा १७ देखि १९ रुपैयाँमा कारोबार भइरहेको इट्टाको मूल्यमा साउनयता प्रतिगोटा दुई रुपैयाँ वृद्धि गरिएको छ ।

यो मूल्यवृद्धिमा प्रतिस्पर्धाको सिद्धान्तसमेत आकर्षित भएको देखिँदैन । सबै उद्योगले समान रुपमा मूल्य बढाएका छन् । सबै उद्योगले समान मूल्यवृद्धि गरेपछि सिन्डिकेट लगाइएको सर्वसाधारणको आरोप पुष्टि भएको छ । विराटनगर ८ ओटा चिम्नीबाट इँटा उत्पादन गर्ने ठूलो आनन्द इँटा उद्योगले १८ रुपैयाँबाट बढाएर प्रतिगोटा मूल्य २० रुपैयाँ कायम गरेको छ ।

जय नेपाल इँटाको मूल्य १७ रुपैयाँबाट बढेर १९ रुपैयाँ पुगेको छ । सुनसरीको पवित्रा इँटाले २० रुपैयाँ प्रतिगोटा पर्ने इट्टा २२ रुपैयाँमा बेच्न थालेको छ । यस क्षेत्रका अधिकांश उद्योगले इट्टाको मूल्य दुई रुपैयाँ बढाएको कोसी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले बताए ।

साहका अनुसार साउनयता इट्टाको मूल्यमा १० देखि १५ प्रतिशत वृद्धि भएको छ । सिन्डिकेट कायम गरिएको आरोप अस्वीकार गर्दै अध्यक्ष साहले हाल बजारमा १२ देखि २२ रुपैयाँ सम्मका इट्टा उपलब्ध रहेको बताए । उनका अनुसार मूल्य निर्धारण उद्योगको आन्तरिक विषय भएकाले संघको कुनै भूमिका हुँदैन ।यसअघि पनि जिल्ला दररेट समितिले स्वीकृत गरेको मूल्यभन्दा बढीमा उद्योगीले इँटा बिक्री गर्दै आएका थिए ।

मोरङ जिल्ला दररेट निर्धारण समितिले गत आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा १६ हजार २४८ रुपैयाँ निर्धारण गरेकोमा उद्योगीहरुले १७ देखि २० हजार रुपैयाँले कारोबार गरेका थिए । चालु वर्षका लागि नयाँ दररेट सार्वजनिक भइसकेको छैन । तर, उद्योगीहरुले मूल्य बढाइसकेका छन् ।

भारतबाट प्रतिटन २२ हजारमा आयात हुने पत्थर कोइला हाल अमेरिका र इन्डोनेसियाबाट प्रतिटन २७ हजार खर्चेर आयात गर्नेपर्दा मूल्य बढेको व्यवसायीको जिकीर छ । पूर्वी क्षेत्रमा सञ्चालनमा रहेका ३३ ओटा इट्टा उद्योगले वार्षिक करिब एक अर्ब इट्टा उत्पादन गर्ने गरेको तथ्याङ्क छ ।