विराटनगरः पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी आजदेखि विराटनगरमा शुरु भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा प्रदर्शनी शुरु भएको हो ।

प्रदर्शनीमा धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराइने बोर्डले जनाएको छ ।

भोलिसम्म हुने प्रदर्शनीमा धितोपत्र कारोबार सम्बन्धी जानकारी दिने १ सय २० वटा स्टल रहेका छन् । प्रदर्शनीमा लगानीकर्ताका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी विभिन्न पुस्तक तथा प्रकाशनको निःशुल्क वितरण गरिने र प्रदेश तथा स्थानीय तहको विकास निर्माणका लागि आवश्यक पूँजी परिचालनको सम्भावनका सम्बन्धमा जानकारी दिइने बताइएको छ ।