इटहरीः १ नम्बर प्रदेश पत्रकार महासङ्घले समितिको आधिकारिक निर्णय बिना नै राजधानी विराटनगर बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार मोरङ जिल्लाका ६३ वटा सामाजिक संस्थासँगै पत्रकार महासङ्घ १ नम्बर प्रदेशले मुख्यमन्त्रीलाई राजधानीे विराटनगरमै राख्नुपर्छ भन्दै ज्ञापनपत्र बुझाएको थियो ।

महासङ्घले कुनै पनि आधिकारिक निर्णय बिना सोझो रूपमा विराटनगरलाई राजधानी बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । प्रदेश पत्रकार महासङ्घको तर्फबाट हस्ताक्षर गर्दै ब्रह्मदेव यादवको नामबाट मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पाइएको छ ।

‘साथीहरूले फेसबुकमा कुरा भने गर्दै हुनुहुन्थ्यो’, प्रदेश पत्रकार महासङ्घका उपाध्यक्ष तथा इलामका सोमनाथ सुसेलीले भने, ‘हामीले आजसम्म आधिकारिक रूपमा राजधानी यहाँ बनाउनुपर्छ भनेर निर्णय गरेको छैनौं । तर, विराटनगर राजधानी बनाउनुपर्छ भनेर साथीहरूले ज्ञापनपत्र दिनुभएछ त्यो वास्तविक बुझ्न बाँकी छ ।’

उपाध्यक्ष मात्र होइन प्रदेश पत्रकार महासङ्घका महासचिव विवेक गौतम पनि यस विषयमा अनभिज्ञता जनाउँछन् । ‘पहिलो कुरा राजधानीको विषयमा हामीले निर्णय गरे पनि नगरे पनि हुने केही होइन’, गौतमले भने, ‘तर पनि महासङ्घको तर्फबाट औपचारिक तथा अनौपचारिक रूपमा राजधानी यहाँ राख्नुपर्छ भनेर निर्णय गरेका छैनौँ ।’

समिति वा व्यक्तिविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ
यसरी सिङ्गो प्रदेश कमिटी वा सदस्यहरूले पदीय दुरुपयोग गरेर संस्थाको आधिकारिक निर्णय बिना संस्थाको नाम प्रयोग गरे संस्थाले कारबाही गर्न सक्ने विधानमा उल्लेख छ । ‘कसैले पनि संस्थाको आधिकारिक निर्णयबिना संस्थाको नामको प्रयोग गरे कारबाही गर्न सक्नेछ’ प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने, ‘महासङ्घको विधान अनुसार आधिकारिक निर्णयबिना विचार व्यक्त गरे स्पष्टीकरणदेखि अविश्वासको प्रस्ताव सम्म लाग्न सक्छ ।’

विधानविपरीत कसैले कुनै पनि कार्य गरेमा जोकोही लाई पनि कारबाही हुने व्यवस्था विधानमा छ । विधानको दफा १५ मा भनिएको छ, ‘महासङ्घका केन्द्रीय समिति वा कुनै पदाधिकारी वा सदस्यका विरुद्ध एक तिहाइ सभासद्ले कारण खुलाई हस्ताक्षर गरी महासङ्घको केन्द्रीय कार्यालयमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन् ।’

विधानमा मात्र होइन नेपाल सरकारले जारी गरेको पत्रकार आचारसंहिता २०७३ मा पनि कुनै भूगोल अथवा क्षेत्रको विषयलाई लिएर कसैप्रति विभेद गर्न नहुने स्पष्ट उल्लेख छ ।

pradesh 1 signature