इटहरीः इटहरीको बीच बजारबाट बग्ने ट्याङ्ग्रा खोला इटहरीमा विपत निम्त्याउने मात्र नभएर सौन्दर्यको माध्यम पनि हो । बाह्रै महिना पानी बग्ने जरुवा स्रोत भएको ट्याङ्ग्रा खोलालाई पर्यटकीय स्थानको रूपमा विकास गर्नुुपर्ने धेरैको धारणा छ । पूर्व पश्चिम राजमार्गले छुने बजारको मुुख्य स्थानको यही खोलालाई इटहरीको अनुहार पनि भनिन्छ ।
तर, यो अनुहार धमिलो छ । अर्थात्, फोहोरी छ । भएको खोलाको भाग पनि अतिक्रमित भएपछि चेपिएर बगेको छ । सामाजिक अभियन्ताहरूको प्रयासमा यसलाई सफा गर्ने कार्य पनि बेलाबेलामा भइरहन्छ । तर, स्थानीयको सक्रियता शून्य हुँदा खोलाको सफाइ अभियान पनि व्यवस्थित बन्न सकेन । यसले दीर्घकालीन रूपमा अभियानको सोचअनुसार खोलाको क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सकिएको छैन ।
शनिबार बिहानदेखि इटहरीको सो क्षेत्रलाई पुनः एक पटक जीवन दिने प्रयास भइरहेको छ । यस क्षेत्रलाई सफा गर्ने र एक छिन भए पनि बटुवालाई सुस्ताउने स्थान बनाउन तल्लीन विभिन्न सङ्घ संस्थाले शुुक्रबारदेखि अभियान थालेका हुन् ।
आज शनिबारको अभियानमा अनौठो दृश्य देखियो । अनौठो यस अर्थमा कि इटहरीको ट्याङ्ग्रा खोला सफा गर्न सधैँ इटहरीका मात्र व्यक्ति हुन्थे, तर आज भने धरान र विराटनगरका व्यक्ति पनि फोहोरमा हात चलाइरहेका भेटिए ।
लायन्स क्लब अफ ग्रीनसिटी इटहरीको निमन्त्रणामा धरान र विराटनगरका लियो क्लबका अभियन्ताहरू सहभागी भएको उक्त सफाइ अभियानमा राजधानीले तातेको राजनीतिक बहसलाई सोच्न बाध्य बनायो ।
प्रदेश राजधानीको मुुद्दालाई चर्को बहसको विषय बनाइएको छ । राजधानी धरान, इटहरी हुने या विराटनगर नै कायम हुने भन्ने विषयले क्षेत्रगत रूपमा ध्रुवीकरण भएको बेलामा धरान र इटहरीका हातहरूले इटहरीको अनुहार सफा गरेका छन् ।
यो संयोग जुराउने ग्रिनसिटीका संस्थापक अध्यक्ष शुकदेव घिमिरेले सामाजिक भावनाले अघि बढ्ने सोच राख्नेहरूका लागि फुट्ने भन्दा जुुट्े मनशाय हुने भन्दै यसले सामाजिक एकताको सन्देश दिन खोजिएको पनि बताए ।
उनले ट्याङ्ग्रा खोलाको सफाइ अभियानमा आफू सम्मिलित संस्थासहित दर्जनौँ संस्थाले यसको रूप फेर्ने जमर्को गरे पनि स्थानीयले पुनः फोहोर फाल्ने प्रवृत्ति नहटाएसम्म समस्या जहाँको तहीँ हुने बताए ।
इटहरीमा आएका यात्रुुलाई केही समय सुस्ताउने उपयुक्त स्थान बनाउन सकिने आधार हुँदाहुँदै खोलको पानी त्यत्तिकै खेर गइरहेको भन्दै यसलाई अब जति सक्दो चाँडै सुन्दर स्थान बनाउन इटहरी सरकारले पहल थाल्नुुपर्ने बताए ।
आज ट्याङ्ग्रा खोलाको माथिल्लो पुलदेखि बजार क्षेत्रको पुलसम्म सफाइ गरिएको लायन्स क्लब अफ इटहरी (स्मार्ट सिटी) का प्रथम उपाध्यक्ष नेल्शन (थानेश्वर) ढकालले बताए । उनका अनुसार अब बजारक्षेत्रको पुलदेखि तल्लो भागमा पनि सफाइ गरिने छ ।
शनिबारको सरसफाइ कार्यक्रममा इटहरी, धरान र विराटनगरका लियो क्लबका पदाधिकारीहरूको समेत सहभागिता रहेको घिमिरेले बताए । बृहत्त सरसफाइ कार्यक्रमपछि ट्याङ्ग्रा खोलामा लायन्स क्लबकै सक्रियतामा निर्माण भएको चौतारोलाई मर्मतसम्भार समेत गरिएको घिमिरेले जनाए । ट्याङ्ग्राखोला सफाइ अभियानले प्रत्येक साता निरन्तरता पाउने उनको भनाइ छ ।