धरानः प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेशको स्थायी राजधानीबारे सबैलाई पायक पर्ने मिलन विन्दुको खोजी गर्नुपर्ने बताएका छन् ।
धरानमा शनिबार पत्रकार भेटघाटमा बोल्दै नेपाली कांग्रेसका सुनसरी सभापती समेत रहेका कोइरालाले सबै राजनीतिक दलहरु मिलेर मिलन विन्दु खोज्नुको विकल्प नभएको बताएका हुन । ‘१४ जिल्लाका माननिय ज्यूहरुको प्रतिनिधित्व छ, राजधानीका लागि सबैको चाहानाअनुसार मिलन विन्दु खोजेर अघि बढ्नु पर्छ ।’ उनले भने ।
राजधानीको वियषमा कांग्रेसको धारणा के छ ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा कोइरालाले कांग्रेसले अहिले नै धारणा बनाइनसकेको बताउँदै जनताको चाहाना अनुसार मिलन बिन्दु खोजेर अगाडी बढ्दा राम्रो हुने बताए । मिलन विन्दु खोज्नका लागि गृहकार्य गनुपर्ने उनको भनाइ थियो ।
उनले हाल रहेको अस्थायी राजधानी विराटनरको विकल्प खोज्न सकिने संकेत गरे । राजधानीको विषय पेचिलो बन्दै गएकोले जनताको भावनालाई समेट्दै सुरक्षित अवतरण गर्दा राम्रो हुने बताए ।
जनतालाई सेवा लिन सहज गराउनका लागि कार्यपालिका, न्यायपालिका र व्यावस्थापिका एकै ठाउँमा राखिनुपर्ने सबैको धारणा आएको समेत बताए । धनकुटा, गोठगाउँ, धरान, इटहरी, विराटनगरका नाम चर्चामा आएकाले यसै मिलन विन्दु खोजिनुपर्नेमा उनले जोड दिए ।
राजधानीको टुङगो सरकार पक्षबाट दशै अगाडी लगाउने विभिन्न कुराहरु आइरहेकाले हतारमा नभइ सहमतीमा अगाडी बढ्नु पर्ने बताएका हुन । यस्तै, प्रदेशको नामाकरणको विषयमा भने पहिचान नछुट्ने संकेत गरे । ‘सबै जनताको मनोविज्ञान बुझेर नामाकरण गर्नुपर्छ ।’ उनले भने ।