इटहरीः इलाममा केशर खेति फस्टाएको छ । प्रतिकिलो १० रुपैयाँको आकर्षक मूल्य पाउने भएपछि किसानले केशर खेतिलाई आयआर्जनको राम्रो माध्यमका रुपमा अपनाएका छन् ।

खेतिका लागि लगाइएका केशरका विरुवामा अहिले केशर फूल्न थालेको छ । इलामको माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सुरु भएको जौवारी मल्टी परपोज एग्रीकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरको सामूहिक खेतिले उत्पादनमा सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ । उच्च पहाडी क्षेत्रमा केशर खेतिको राम्रो सम्भावना रहेको प्रदेश नम्बर –१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले बताए ।

केशरको विरुवामा झुलिरहेको फूलले किसानको मुहारमा हर्ष ल्याएको छ । केशर फूलेपछि सोको दृश्यावलोकनका लागि माइजोगमाईको थुम्केडाँडामा पर्यटकसमेत पुग्न थालेका छन् । हल्का हिमपात सहितको पाँच सयदेखि दुई हजार पाँच सय मिटरको उचाइ भएको क्षेत्र केशर खेतिका लागि अब्बल मानिन्छ । फूलभित्र हुने रातो लुर्का सुकाएर तयार गरिएको केशर उच्च मूल्यमा बिक्री हुने जडिबुटि हो ।करिब डेढ लाख सुगन्धित फूलबाटमात्र एक किलो केशर प्राप्त हुने गर्दछ ।

प्रदेश र स्थानीय सरकारको समन्वयमा यसको खेति विस्तार गर्न सके राम्रो लाभ लिन सकिने देखिन्छ । चिया, जुसजस्ता पेय पदार्थमा मसालाका रुपमा प्रयोग हुने केशर स्वास्थ्यका लागि लाभदायक मानिन्छ । कृषकलाई तालिम प्रदान गरी उचित अनुसन्धानका साथ यसको खेति विस्तार भए देशको अर्थतन्त्रमा सुधार हुने देखिन्छ ।