इटहरीः गत भदौ २५ गते इटहरीको जनता बहुमुखी क्याम्पस परिसरमा यौन हिंसा भएको भनिएको विषयलाई क्याम्पस प्रमुखले गुपचुप राखेको भन्दै आलोचना भएको छ । क्याम्पसका गार्ड देविन्द्र दाहालले यौन हिंसा गरेको भनी क्याम्पसको क्यान्टिनमा भाडा माझ्ने एक मधेसी महिलाले प्रहरीमा उजुरी दिएपछि मात्रै यो कुरा सार्वजनिक भएको थियो ।
तर घटनाका विषयमा क्याम्पसका सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्ले र शिक्षक मदन बरालमार्फत् क्याम्पस प्रमुखलाई जानकारी दिइएको थियो । त्यसपछि क्याम्पस प्रमुख भोजराज श्रेष्ठले सुरक्षा गार्ड देविन्द्र दाहाललाई स्पष्टीकरण सोधे पनि कुनै कारबाही गरेनन् ।
२५ दिन कुर्दा पनि आफूलाई यौन दुव्र्यवहार गर्नेलाई केही नगरेको भन्दै ती महिलाले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिइन् । जाहेरीपछि यौन दुव्र्यवहारको घटना गुपचुप राखेको भन्दै प्रमुख श्रेष्ठको आलोचना भयो । तर, श्रेष्ठ भने आफूलाई यस बारेमा कुनै निवेदन नआएको बताउँछन् । कानुनका जानकारहरू भने क्याम्पसमा घटना भएको र धेरैले थाहा पाएको यौन हिंसाको कुरामा उजुरीबिना पनि क्याम्पसले कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने बताउँछन् ।
क्याम्पस प्रमुखको यस्तो व्यवहारपछि क्याम्पस सञ्चालक समितिका पदाधिकारी पनि क्याम्पस प्रमुखसँग रुष्ट भएका छन् । समितिका कोषाध्यक्ष सागर सुवेदीले क्याम्पसका एक पालेले महिलालाई दुव्र्यवहार गरेको ‘कम्प्लेन’ र सिसिटिभी फुटेज भेटिए पनि कारबाही नगर्नु लज्जास्पद भएको बताउँछन् । उनी भन्छन्, ‘एक जना सामान्य कर्मचारीको कमजोरीमा क्याम्पस प्रमुखले लाचार भएर बस्नुमा धेरै आशङ्का गर्न सकिन्छ ।’
यौन हिंसाको मुद्दा प्रहरीकोमा परिसकेकाले अब मुद्दा किनार नलागुञ्जेल प्रमुख श्रेष्ठलाई निलम्बन गर्नुपर्ने सुवेदीले बताए । ‘क्याम्पसको बेइज्जत हुने र महिलालाई अपमान हुने काममा क्याम्पस प्रमुखको लाचारी र मौनता गम्भीर दोष हो’, सुवेदीले भने, ‘त्यसैले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । राजीनामा नगरे सञ्चालक समितिले निलम्बन गर्नुपर्छ ।’
पीडित महिलाले लगाएको आरोप पुष्टि नभएमा श्रेष्ठलाई पुनर्वहाली गर्न सकिने शर्तमा निलम्बन गर्नुपर्ने सुवेदीले बताए । उनले भने, ‘एउटा घटनालाई २५ दिनसम्म गुपचुप राख्नु र निवेदन आएन भन्दै आफूले थाहा पाएको कुरामा पनि कानुनी प्रक्रिया अघि नबढाउन क्याम्पस प्रमुखलाई सुहाउँदैन ।’
उता, सञ्चालक समिति अध्यक्ष विश्व रिजालले भने क्याम्पस प्रमुखलाई स्पष्टीकरण नसोधिएको बताए । सबै कुरा बाहिर आएकाले प्रमुखलाई स्पष्टीकरण नसोधिएको रिजालले बताए ।