इटहरीः तमुस्यो गुरूङ आमा समूहको पाँचौं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा मिस गुरूङ इन्टरनेसनल सेकेन्ड रनरअप २०१८ की एलिसा गुरूङ र बेस्ट पर्र्सनालिटी तथा बेस्ट स्मइल दीक्षा गुरूङलाई नगद तथा प्रमाणपत्रका साथमा खादा ओढाएर सम्मान गरिएको थियो । समूह स्थापनाकालदेखि अहोरात्र खट्ने चमेली गुरूङलाई पनि सम्मान गरिएको थियो ।
सो समूहले आफ्नो समुदायका व्यक्ति देश परदेशबाट आउँदा सहयोग माग्नुका साथै विवाह, पास्नी, पूजा आदिमा दिइएको दान स्वीकार गरी रकम सङ्कलन गर्ने गरेको बताइएको छ । सो रकम सामाजिक र धार्मिक काममा खर्च गर्ने गरेको आयोजकले जनाएको छ ।
समूहको पाँचौँ अधिवेशनले निवर्तमान सचिव दीपा गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दिनहरूमा सामाजिक काममा विशेष अग्रसरताका साथ सशक्त ढङ्गले अघि बढ्ने नवनिर्वाचित अध्यक्ष गुरुङले बताइन् । कार्यक्रममा आमा समूहद्वारा नियमित शान्ति पूजा र गुम्बा सञ्चालनको सहयोगको लागि ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको जनाइएको छ । तमुस्यो ह्युल छोज धीं गुरूङ महिला राष्ट्रिय परिषद् सुनसरी सचिव मिश्रामाया गुरूङले सो अक्षयकोषमा ६ हजार रकम थपेकी थिइन् ।
कार्यक्रम समूहकी निवर्तमान अध्यक्ष शोभा गुरूङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा केन्द्रीय अनुगमन समितिका सदस्य केशरमान गुरूङ तथा तमु ह्युल गुरूङ राष्ट्रिय परिषद प्रदेश एकका सचिव होमबहादुर घले विशिष्ट अतिथिका रूपमा आमन्त्रित थिए । इटहरी– ४ की वडा सदस्य पार्वती बराइली र वडा नम्बर ६ का वडा सदस्य अरूण गुरूङको पनि कार्यक्रममा उपस्थिति थियो ।