इटहरीः ५० वर्षीय बलदेव मण्डलको घर कोसी टप्पु वन्यजन्तु आरक्ष छेवैको कोसी गाउँपालिका ३ पर्ती टोलमा पर्छ । उनी सात वर्षदेखि आरक्षको मध्यवर्ती क्षेत्रका मानव बस्तीमा छिर्ने जङ्गली हात्ती धपाउने काम गर्छन् । उनी जङ्गली हात्तीको स्वभाव र हिँड्ने बाटो मज्जाले पहिल्याउन सक्छन् ।

आरक्ष आसपासको गाउँमा जब जङ्गली हात्ती छिर्छ तब सबैले उनलाई डाक्छन् । रात होस या दिन बोलाएको ठाउँमा बलदेव प्राय पुग्ने गर्छन् । बलदेव हात्ती धपाउन सिपालु हुनुको कारण सानै देखिको देखाइ अनि भोगाई हो ।

जङ्गली हात्तीका कारण मध्यवर्ती क्षेत्रका धेरैले ज्यान गुमाएका छन् भने कयौँको घर र बाली नष्ट भएको छ । अहिले कोसी टप्पु आरक्ष भित्र ६ वटा जङ्गली हात्ती छन् । यी हात्तीहरू पछिल्लो दुई वर्षदेखि कतै नगई आरक्ष भित्रै बस्दै आएका छन् ।

यी हात्ती मध्ये ‘मकुना’ भाले हात्ती अत्यन्त बढी विध्वंस मच्चाउने स्वभावको छ । मकुनाकै कारण हाल सम्म मध्यवर्ती क्षेत्रमा ८ जनाले ज्यान गुमाइसकेका छन् । साथै १८ वटा घर र लाखौँ मूल्य बराबरको अन्नबाली मकुनाका कारण क्षति पुगेको छ ।

आरक्ष र मध्यवर्ती क्षेत्रमा माकुना हात्ती देख्न साथ स्थानीय, आरक्ष सुरक्षार्थ नेपाली सेना र आरक्ष कर्मचारीहरू ‘साइड’ लाग्ने गर्छन् ।

तर पुरै आरक्षमा आफ्नो आतङ्कले चर्चित मकुना भने बलदेव मण्डलसँग डराउने गर्छ । मकुना हात्ती कहिले समूह लिएर त कहिले एक्लै गाउँ पस्छ । त्यस बेला मकुना बलदेवको आवाज सुन्न साथ पछि हट्ने गरेको छ ।

बलदेव हात्ती देख्न साथ भिन्न आवाज निकाल्छन् र हात्तीलाई डराउँछन् । हात्ती धपाउन उनले कहिले गुलेली चलाउँछन् त कहिले पटाका पड्काउँछन् । हात्ती नभागेको अवस्थामा बलदेवले आफ्नो ट्रयाक्टर निकालेर पनि हात्ती खेद्छन् ।
मकुनाले भने बलदेवको आवाज पहिचान गर्ने गरेको छ । ‘मलाई मकुनाले स्पष्ट चिन्छ, बलदेव भन्छन् ‘मलाई धेरै पटक खोज्दै हिँडेको छ । माकुनाले मलाई तीन पटक मार्ने कोसिस समेत गरेको छ । म अहिले मकुनाको ‘वान्टेड’ मा छु’ ।

मकुनालाई धेरै पटक लखेट्दा मलाई चिनेको हो । हात्तीले मान्छेको हाउभाउ र आवाज प्रस्ट पहिचान गर्न सक्छ ।

पहिलो पटक घरको भित्ता भत्काएर मलाई आक्रमण गर्न खोज्यो । दिउसो घरभित्र आराम गरिरहेको अवस्थामा ५ इन्चको भित्ता फोडेर मलाई आक्रमण गर्न खोजेको थियो । भागेर ज्यान जोगाए ।

दोस्रो पटक राती मकै बारीमा ढुकेर आक्रमण गर्न खोजेको थियो । त्यहाँ पनि भागेर ज्यान जोगाए । तेस्रो पटक मकुनाले खेदाउँदा रूपमा चढ्दा रुख नै भाँच्न खोज्यो ।

makuna

त्यो बेलाको क्षण बलदेव यसरी सम्झिन्छन् 

छिमेकीले लगाएको मकै बारीमा मकुनाको समूह देखियो । सबैले लखेटेऔँ । तर मकुना एक्लै फर्किएर मलाई मात्र खेद्न थाल्यो । म रुखमा चढे, मकुनाले एक घण्टा लगाएर रुख भाँच्ने कोसिस गर्‍यो । सुँड भित्र ल्याएको पानी जरामा हालेर पनि रुख भाँच्न खोज्यो । तर सेनाले हवाई फायर गरेपछि मकुना भाग्यो ।

‘अझै पनि मकुना मलाई खोज्दै हिँड्छ’ उनले भने ‘आरक्षको बाटो हिँड्दा परैबाट मलाई देख्यो भने पनि लखेट्न सुरु गर्छ’ ।

सायद मेरो रिसले होला दुई जना दाई मकुनाकै आक्रमणबाट ज्यान गुमाएको बलदेव बताउँछन् । बलदेवका ४ जना दाजु मध्ये माइला दाइ लालु मण्डललाई मकुनालेनै सुढले पक्रेर रुखमा फाल्दियो र छातीको हड्डी भाँचेर मृत्यु भयो ।

यस्तै ठुलो बुवाको छोरा वीरेन्द्र मण्डल र एक छिमेकी मलाहा आँखा अगाडी मकुनाले मार्दियो । बलदेव प्रति मकुनाको आक्रोश देखेर छिमेकी रमेश कुमार यादव डराउँछन् ।

‘बलदेवले लगाउने टोपी, उनको जुँगा र शरीर देखेर मकुना हात्ती डराउँछ । तर मौका मिल्न साथ आक्रमण गर्न आउँछ’ । ‘फिल्मको कथा जस्तो छ बलदेव र मकुनाको सम्बन्ध’ यादवले भने ।

बलदेवलाई एक्लै आरक्ष भित्र नजान स्वयम आरक्षका कर्मचारी, नेपाली सेना र स्थानीयले सम्झाउँछन् ।

बलदेव मध्यवर्ती क्षेत्रमा पसेका जङ्गली हात्ती लखेट्दा आरक्षबाट भत्ता पाउँथे । तर अहिले भत्ता दिने नियम हटेपछि बलदेव परेको अवस्थामा मात्र हात्ती खेद्ने गर्छन् ।

‘म हात्तीलाई कहिले चोट पुराउँदिन । बस गाउँ र खेतको सुरक्षाको लागि हात्ती भगाउनको लागि पटाका पड्काउँछु र गुलेली चलाउँछु’ उनी भन्छन् ‘हात्ती भगवनको प्रतीक हो, म सदैव हात्तीको पूजा पनि गर्ने गर्छु ।