इटहरीः कोरोना संक्रमणका कारण देशव्यापी रुपमा गरिएको लकडाउन र निषेधाज्ञाका कारण देशको अर्थतन्त्र शिथिल बन्न पुगको छ ।

कोरोना संकटका कारण उद्योगधन्धाबाट हुने उत्पादनमा ह्रास आएको छ । उत्पादनमा आएको गिरावटसँगै उद्योगहरुले जनशक्ति कटौति गरेका छन् । यसबाट ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएका मानिसहरुको क्रयशक्तिमा ह्रास आएको छ । क्रयशक्तिमा ह्रासका कारण मानिसले चाडपर्वका अवसरमा पर्याप्त मात्रामा पैसा खर्च गर्न सकेका छैनन् । यसले चाडपर्वलक्षित व्यापार प्रभावित भएको छ ।

तिहारका अवसरमा अन्य समयमा व्यापक बिक्री हुने गरेका झिलिमिलि बत्ति तथा दियोका साथै छठ पर्वका लागि आवश्यक पर्ने नाङ्लो, डालाजस्ता बाँसबाट बनेका कलात्मक सामानको व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । कात्तिक २८ गतेबाट दीपावली र मंसिर ३ गतेबाट छठ पर्व प्रारम्भ हुनै लागेको अवस्थामा समेत व्यापारमा कुनै वृद्धि हुन नसकेको मोरङको विराटनगरका व्यवसायीहरुको अनुभव छ । १५ वर्षदेखि माटोको भाँडा तथा बाँसबाट बनेको नाङ्लो, डालाजस्ता सामग्रीको व्यवसायमा संलग्न अशोक साहले व्यवसायमा ८० प्रतिशतले गिरावट आएको बताए ।

विगतमा चाडपर्वको सिजनमा दैनिक २० देखि २५ हजारको व्यापार गर्दै आएका उनले यस वर्ष अपेक्षाकृत व्यापार गर्न नसकेको गुनासो गरे । यसैगरी, महिला व्यवसायी भारती सिंहले पनि ग्राहकको संख्या नगण्य रहेको बताइन् । माटोका भाँडा र बाँसका सामग्रीको भारतबाट हुने गरेको आयात रोकिएकोमा भने उनले खुसी व्यक्त गरिन् । उनका अनुसार यस वर्ष इनरुवा, देवागञ्ज लगायतका क्षेत्रमा निर्मित सामग्रीले बजार पाएको छ । मूल्य घटाएर बिक्री गर्दा पनि सामानको व्यापार नभएको व्यवसायीहरुको तितो अनुभव रहेको छ ।

हाल बजारमा माटोको सानो दियो एकदेखि दुई रुपैयाँ प्रतिगोटा, ठूलो दियो तीनदेखि पाँच रुपैयाँ प्रतिगोटा र कलश साइज अनुसार ३० देखि ५० रुपैयाँ प्रतिगोटामा बिक्री भइरहेको छ । बाँसबाट बनेको ढाकी साइज अनुसार दुई सयदेखि तीन सय रुँपैया प्रतिगोटा, नाङ्लो एक सय २० रुपैयाँ प्रतिगोटा र दाउरी एक सय ८० रुपैयाँ प्रतिगोटाका दरले बिक्री भइरहेको छ ।