विराटनगरः विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश नम्बर १ को राजधानी विराटनगरबाहिर सारिए प्रतिकार आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सोमबार महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै पराजुलीले प्रदेश संसद र सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।
उनले प्रदेश सरकार र संसदका सदस्यहरूले स्वार्थी तत्वको व्यक्तिगत इच्छा, आकंक्षा र स्वार्थका कारण राजधानी अन्यत्र लैजान खोजिरहेको समेत आरोप लगाएका छन् । प्रमुख पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विराटनगरलाई स्थायी राजधानी बनाउन कुनै अवरोध गरिए हामी एक ढिक्का भएर प्रतिकारमा उत्रने छौं ।’ स्वार्थी तत्वको प्रभावमा प्रदेश संसद र सरकार परेकाले राजधानी सार्न खोजेको भन्दै प्रमुख पराजुलीले राजधानी पक्षधर भनेर चिनिँदै आएका ६३ संस्था उपस्थितिमा पत्रकार सम्मेलन गरेका थिए ।
आफ्नै दबाबका कारण विराटनगर अस्थायी राजधानी र महानगरपालिका बनेको दाबी गर्दै पराजुलीले अहिले राजधानी सार्ने वा विकेन्द्रित गर्ने विषय र बहस उचित नरहेको बताएका छन् ।
विराटनगरका अपुरा र धेरै विकासका कामहरू जारी रहेको र केही वर्षमै देशको सुन्दर शहर बन्ने दावीसहित पराजुलीले प्रदेश सरकार र संसदका लागि आवश्यक पूर्वाधार दिन महानगर तयार रहेको समेत बताएका छन् ।
राजनीतिक, सामाजिक इतिहाससहित १ सय ४ वर्ष गुजारेको शहर, प्रदेश १ मा रहेको एउटै महानगरपालिका नै स्थायी राजधानीको निर्विकल्प रूपमा रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
संवैधानिक अधिकार सम्पन्न प्रदेश संसद र सरकारलाई चेतावनी दिएको भन्दै पराजुलीको आलोचना भएको छ । पत्रकार सम्मेलनपछि जिज्ञासा राख्ने अधिकांशले गम्भीर त्रुटिसहितको विज्ञप्ति प्रकाशित गरेको भनी पराजुलीसँग त्यसको कारण मागेका थिए ।
पराजुलीले केही प्राविधिक त्रुटि रहेको भन्दै आगामी दिनमा सच्याउने बताएका थिए । उद्योग सङ्गठन मोरङ, व्यापार सङ्घ तथा अन्य विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि सहभागी गराएर पराजुलीले पत्रकार सम्मेलन गरेका थिए ।