इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज २५ गते सुनसरीमा सञ्चालनमा रहेका सम्पूर्ण व्यपार व्यवसाय राति ८ बजेपछि सञ्चालन नगर्न निर्देशन जारी गर्यो ।

त्यही निर्देशनपछि यहाँ रहेका व्यवसाय ८ बजेपछि बन्द हुन थाले र बन्द गर्न अटेर गर्नेलाई प्रहरी परिचालन गरेर बन्द गर्न थालियो । सो निणय कतिपयले राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले यो निणयभन्दा लकडाउन राम्रो भएको बताउँदै आएका छन् । यो निर्णयले बढी प्रभाव परेका क्षेत्र हो होटल व्यवसाय । प्रायः रातिको समयमा बढी चहलपहल हुने व्यवसायका रुपमा रहेको होटल ८ बजेपछि बन्द गर्नुपर्दा व्यवसायी मारमा परेका छन् । धरानका होटल व्यवसायीले ८ बजे होटल बन्द गर्नुको सट्टा खोल्नै नदिन भनेका छन् । 

धरानको होटल व्यवसाय डामाडोल भयोः होटल व्यवसायी

धरानका अधिकांश होटल व्यवसायीले जिल्ला प्रशासनले गरेको निणर्यबाट आफूहरु असन्तुष्ट भएको बताएका छन् । होटल एसोसिएसन धरानका अध्यक्ष सरोज भट्टराईले प्रशासनको नियमले धरानको होटल व्यवसायमा ठूलो क्षति पुगेको बताएका छन् । ‘जुन यो जिल्ला प्रशासन कार्यालयले राति ८ बजे नै होटल बन्द गर्न निणर्य गर्यो, यसले धरानको होटल व्यवसाय डामाडोल बनेको छ । प्रशासनले गरेको यो निर्णयबाट हामी होटल व्यवसायी मारमा परेका छौँ । रातिको समयमा होटलमा बढी चहलपहल हुने तर त्यही समयमा हामीले होटल बन्द गर्दा मारमा परेका छौँ’, उनले भने । 

उनले धरानमा धेरैजसो होटलहरु रात्रिकालीन भएकाले अरु ठाउँमा भन्दा बढी असर पुर्याएको बताए । ‘यहाँका होटलहरुमा दिउँसो खासै चहलपहल हुँदैन । यहाँ होटल चल्ने भनेकै राति हो । यहाँका होटलहरुमा अन्य व्यवसाय गर्नेहरु राति ‘रिलिफ’ गर्न आउँछन् । अब उनीहरुले ७ बजेसम्म आफ्नो व्यवसाय चलाउँछन् । बन्द गरेर यहाँ आउँदा ८ बजिहाल्छ । ८ बजेपछि प्रशासनले चलाउन दिदैन । यसो गर्नुभन्दा त प्रशासनले बरु पहिलाकै जस्तो लकडाउन गरे हुन्छ’, उनले भने ।

बगरकोट व्यावसायिक मञ्चका अध्यक्ष जीवन मेहाङ्बोले धरानको बगरकोटमा दिउँसो मानिसको आवतजावत शून्य हुने र रातिको समयमा चहलपहल बढी हुने गरेको बताए । तर राति होटल बन्द गर्दा आफूहरु मारमा परेको उनको गुनासो छ । ‘धरान, विशेषगरी बगरकोट एरियामा साँझ ६÷७ बजेसम्म चहलपहल नै हुँदैन । यो ठाउँ रात्रिकालीन रमाइलोका लागि प्रख्यात छ । अब प्रशासनले राति ८ बजेसम्म मात्र होटल खोल्न भनेको छ । यसले त हामी ठूलो मारमा परेका छौँ । हाम्रो कारोबार नै ठप्प भएको छ’, उनले भने ।

साथै उनले हाल व्यवसायीलाई बैँकको ऋण, घरभाडा र सरकारलाई कर तिर्न धौ धौ भएको समयमा प्रशासनको यो नियमले थप चिन्तित बनाएको बताए । धरानमा होटल एसोसिएसनमा दर्ता भाएर सञ्चालन भएका तीन सयभन्दा बढी र उपमहानगरमा दर्ता भएर चलेका ४ हजारको हाराहारीमा होटल छन् । अहिले जिल्ला प्रशासनले ८ बजेबाट बन्द गर्न निर्देशन गरेपछि सबै होटल मारमा परेका छन् ।

जिल्ला प्रशासनले नयाँ निणय गरेमा कार्यन्वयन गर्न हामी तयार छौँः डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत

यता, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको निणर्यलाई कार्यान्वयन गर्ने काम मात्र आफ्नो भएको बताएका छन् ।

‘जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज २५ गते जिल्लामा सञ्चालनमा रहेका होटल तथा अन्य व्यवसाय राति ८ बजेसम्म मात्र खोल्न निर्देशन गरेको छ । सोही बमोजिम धरानमा होटल तथा अन्य व्यवसाय चल्दै आएका छन् । होम्रो काम जिल्ला प्रशासनले गरेको निर्णय कायान्वयन गर्ने मात्र हो । प्रशासनबाट कुनै निणय भए हामी त्यसलाई लागु गर्न तयार छौँ । प्रशासनले २४ घण्टा नै व्यवसाय चालउन पाउँछ भनेर निणय गरेमा हाम्रो कुनै छेकबार रहँदैन’, उनले भने ।

उनले धरानका व्यवसायीले ज्ञापन पत्र बुझएको पनि जानकारी दिए । साथै उनले व्यवसायीको गुनासाको विषयमा प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको बताए ।