इटहरीः आइतबारबाट नेपाली काङ्ग्रेसको भातृ सङ्गठनमा उमेर हद लाग्यो । नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले आइतबार राति ११ः४५ मा यस्तो निर्णय गरेको हो । निर्णयपछि ३२ कटेका धेरै सक्रिय विद्यार्थी नेताहरूले असन्तुष्टि जनाए ।

असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्ने नेतामा थिए, नेवि सङ्घ सुनसरी उपसभापति विक्रम घिमिरे । उनले मध्यरातको सो निर्णयमा प्रतिक्रिया दिँदै लेखे, ‘आजदेखि नेवि सङ्घ हुँ भन्नेहरू सबै जना भाइ ।’

लामो समयसम्म अधिवेशन नगरेर नेतृत्वको जाम गर्ने र केही व्यक्तिलाई नियोजित रूपमा रोक्न खोज्ने गरी उमेर हद लगाइएको भन्दै नेता घिमिरेलगायत जिल्लास्तरका धेरै विद्यार्थी नेताहरूले असन्तुष्टि राखेका छन् । तरुण दलजस्तो उमेर समूहको नेतामा उमेर हद नलगाएर विद्यार्थीमा लाउनु आफँैमा हास्यास्पद भएको उनी बताउँछन् ।

वर्षौसम्म अधिवेशन नगर्ने तर उमेर हद लगाउने कुरा मिल्दै नमिल्ने घिमिरेले बताए । उनले भने, ‘एकातिर जहिले पनि औपचारिक क्याम्पसमा अध्ययन गर्नेलाई विद्यार्थी भन्ने अनि विद्यार्थी नेता बन्न चाहिँ ३२ वर्षे हद लाउने कुरा सुहाएन ।’