इटहरीः नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ जनता क्याम्पसमा नयाँ समानान्तर समिति बनेको छ । यस अगाडि बनेको सहदेव काफ्ले नेतृत्वको समितिप्रति असन्तुष्ट पक्षले नयाँ समिति बनाएको हो ।


नयाँ समितिमा असिम बस्नेतको नेतृत्वमा ५१ जना विद्यार्थी रहेका छन् । १८ औँ अधिवेशनमार्फत् नयाँ समिति गठन गरेको आयोजकले बताएको छ । सोमबार बिहान जनता क्याम्पसमा भएको समिति गठन कार्यक्रममा मा जिल्ला उपसभापति कुमार कटुवाल, गुणानन्द चौधरी, टङ्क दाहाल, जिल्ला सचिव नविन कटुवाल, सहसचिव राजेन्द्र खड्का लगायतको उपस्थिति थियो ।

यस अगाडि बनेको समिति देउवा पक्षको र नयाँ समिति पौडेल पक्षको भएको विद्यार्थी नेताले बताएका छन् ।

समिति गठनपछि जिल्ला सचिव कटुवालमाथि कुटपिट
नेवि सङ्घको नयाँ क्याम्पस समिति बनेपछि बढेको मनमुटाव कुटपिटमा परिणत भएको छ । जिल्ला सचिव नवीन कटुवाललाई केही व्यक्तिले क्याम्पस हातामा कुटपिट गरेका थिए ।

जनता क्याम्पसको समाजकार्य (बिएसडब्लु) विषय अध्ययन गर्ने कटुवालमाथि क्याम्पस हातामै कुटपिट भएपछि उनले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । जिल्ला सभापती मन्दिप भट्टराई लगायतका नेताविरुद्ध जाहेरी परेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।