इटहरीः उमेर हदबन्दी लागू हुने भएसँगै नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्तामा उत्साह थपिएको छ । लामो समयको बहस र छलफलपछि नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले उमेर हद लागू गर्ने निर्णय गरेको हो ।
नेवि सङ्घको ११ औं अधिवेशनमै उमेर हदको विषयमा बहस भए पनि नीतिगत निर्णय भने हुन सकेको थिएन । तर यही असोज २१ गतेको बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्षको उमेर हद लागू गर्ने निर्णय गरेको हो ।
सो निर्णयसँगै नेवि सङ्घभित्र नयाँ तरङ्ग पैदा भएको छ । संस्थापन पक्षीय केन्द्रीय सदस्यको बहुमतबाट लागू गरिएको नियम आगामी १३ औं महाधिवेशनबाट लागू हुने भएको छ । जसका कारण संस्थापनइतर समूह भने असन्तुष्ट देखिएको छ । विद्यार्थी हुन कुनै उमेर नचाहिने भन्दै पौडेल र सिटौला समूहले उमेर हदमा असन्तुष्टि देखाएको हो ।
उत्साहसँगै मिश्रित प्रतिक्रिया दिन्छन् नेवि सङ्घ सुनसरीका उपसभापति विक्रम घिमिरे । नेवि सङ्घको समस्या उमेर हदभन्दा पनि समयमा अधिवेशन हुन नसक्नु भएको उनको तर्क छ ।
२ वर्षमा गर्नुपर्ने अधिवेशन गराउन १० वर्ष लगाउनेले उमेर हदबन्दी लगाउनु वैज्ञानिक नभएको उनको भनाइ छ । कुनै नेताको राजनीतिलाई धरापमा पार्नको लागि गरिने निर्णयले भविष्यमा समस्या पर्न सक्ने उनी बताउँछन् ।
तथापि यो निर्णयले इकाई र क्षेत्रीय स्तरका कार्यकर्तामा भने ऊर्जा थपिएकोमा उनी खुशी व्यक्त गर्छन् । केन्द्रीय पदाधिकारीदेखि जिल्ला नेतृत्वमा ३२ वर्ष उमेर कटेका युवाहरूले दाबी गरिरहेको अवस्थामा यो निर्णयले तरङ्ग ल्याएको पाइएको छ ।
इकाइ तथा क्षेत्रीय समितिमा उत्साह
स्थानीय इकाइ तथा क्षेत्रीय समितिमा काम गर्ने युवा भने यो निर्णयले उत्साहित भएका छन् । घिमिरेको तर्कमा सहमत हँुदै नेवि सङ्घ सुनसरीका नेता प्रमोद भट्टराई भन्छन्, ‘उमेर हदको कारण मजस्ता ३२ नपुगेकाहरूलाई ऊर्जा थपिएको छ तर त्यससँगै ३२ कटेका युवा जोश र जाँगरको साथ नेवि सङ्घ बनाउन हिँडेका युवाहरूको सपनामाथि कुठाराघात भएको छ ।’ उमेर हदको कारण जिम्मेवारीविहीन भएका युवाहरूलाई पार्टीभित्र स्थान दिएर युवाहरूको क्षमता मार्ने काम गर्न नहुने उनको भनाइ छ । नेवि सङ्घका नेता तथा सप्तकोशी बहुमुखी क्याम्पसका अध्यक्ष प्रतीक राई यो निर्णयले राजनीति गर्ने ऊर्जा थपिएको बताउँछन् ।
पहिला नेतृत्वको लागि ४० कटेका नेताहरूको दाबेदारी हुने गरेको र नयाँ ऊर्जाशील युवाहरू पाखा लाग्नुपर्ने समस्याको समाधान भएको उनको भनाइ छ । यसले नेवि सङ्घलाई मात्र नभई काङ्ग्रेसलाई नै थप चलायमान बनाउने उनको विश्वास छ ।
त्यस्तै, तर्क गर्छन् महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सचिव दोर्ची शेर्पा पनि । उमेर हदका कारण शुरुमा केही समस्या देखिने भए पनि बिस्तारै समस्या समाधान हुँदै जानेमा उनी विश्वस्त देखिन्छन् । यो निर्णय आकस्मिकतालाई भन्दा पनि भविष्य सोचेर गरिएको हुन सक्ने उनको बुझाइ छ । २५÷३० वर्षको युवा नेतृत्वमा आयो भने त्यो ऊर्जाले देश तथा सङ्गठनलाई नै फाइदा पुग्ने उनको भनाइ छ ।
पार्टीको यो निर्णयले आफू र अरू युवाहरूमा पनि ऊर्जा थपिएको उनी बताउँछन् ।
युवा नेताको निराशा कम हुने विश्वास
नेवि सङ्घ झापाका नेता भुवन बुढाथोकी निर्णय राम्रो भए पनि व्यवस्थापन पक्ष कमजोर भए समस्या आउने बताउँछन् । नयाँ युवाहरूमा राजनीतिप्रति बढ्दै गएको निराशापनको केही हदसम्म समाधान भएको उनको भनाइ छ । उमेर हदका कारण पीडित भएका ३२ वर्ष पार गरेका नेवि सङ्घका नेताका लागि भने पार्टीले नयाँ विकल्प खोजेर व्यवस्थापन गर्न जरुरी रहेको उनी बताउँछन् । नेवि सङ्घभित्र लागू गरिएको उमेर हदले पार्टीभित्र पनि उमेर हद लागू गर्नुपर्ने तर्क शुरु हुन थालेको छ ।
७० वर्षसम्म मात्र पार्टी राजनीति गर्न पाउनुपर्ने भन्दै नेवि सङ्घका नेताहरूले माग गर्न थालेका छन् ।