इटहरीः प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले चुनावी दौरानमा आफूले पाँचथरको सुख्खाग्रस्त क्षेत्रको समाधान गर्ने बताएका थिए ।
मन्त्री हुनु अगाडि र सांसद भएपछि पनि उनले यो कुरा दोहो¥याएका थिए । उनले आफैँले भनेका पूर्वनिर्धारित कार्यक्रमको व्यावहारिक कार्यान्वयन गर्न मन्त्री आङ्बो सफल भएका हुन् ।
सोमबार साँझ बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले पाँचथरका २, धनकुटा र तेह्रथुमका १÷१ सुख्खाग्रस्त क्षेत्रका स्थानीयलाई सहयोग र राहत दिने निर्णय गरेको छ ।
मन्त्री परिषद्ले प्रदेशका सुख्खाग्रस्त पाँचथरका तुम्बेवा र कुम्मायक, धनकुटाको चौबिसे र तेह्रथुमको छथर गाउँपालिकाका स्थानीयले राहत पाउने भएका छन् ।
मन्त्रिपरिषदको निर्णयले सुख्खाग्रस्त क्षेत्रका प्रतिपरिवारलाई ७ हजार ५ सय रुपैयाँ नगद दिने र पाँचथरको तुम्बेवा गाउँपालिकामा खानेपानी बोक्ने एउटा ट्याङ्करको लागि आवश्यक बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । प्रदेश सरकारको ७० र स्थानीय सरकारको ३० प्रतिशत आर्थिक सहयोगमा यी कार्यक्रम हुने मन्त्री आङ्बोले बताए ।
सुख्खाग्रस्त क्षेत्रका स्थानीयको दीर्घकालीन समाधानको लागि प्रदेश सरकारले थप कार्यक्रम ल्याउने मन्त्री आङ्बोले बताए । उनले भने, ‘चाडबाड आइरहेको अवस्थामा जनतालाई केही राहत दिनलाई हामीले यस्तो निर्णय गरेका हौँ ।’
एक महिना अगाडि सुख्खाग्रस्त क्षेत्रको अध्ययन टोलीको प्रतिवेदन अनुसार राहतका कार्यक्रम आएको मन्त्री आङ्बोले बताए ।
अबको लक्ष्यः फुसको छाना हटाउने कार्यक्रम
सुख्खाग्रस्त क्षेत्रमा राहत कार्यक्रम ल्याएका अर्थमन्त्री आङ्बोले अब फुसको छाना हटाउने अभियान पनि छेड्ने बताए । आफ्नो चुनावी क्षेत्र पाँचथरबाट शुरु हुने यो कार्यक्रमलाई प्रदेशभरि फैलाउने मन्त्री आङ्बो बताउँछन् । उनी भन्छन, ‘यो कार्यक्रम अब बिस्तारै अध्ययन गरेर शुरु हुनेछ ।’