इटहरीः ढाकाका कपडा तथा अन्य उत्पादनले देश तथा विदेशमा पहिचान बनाएको पूर्वी नेपालको पहाडी जिल्ला हो तेह्रथुम । तेह्रथुमे ढाका भन्नेबित्तिकै यहाँ आउने जो कोहीको पनि मन लोभिन्छ । यहाँका स्थानीयको पुख्र्यौली पेसाकै रुपमा रहेको ढाका बुन्ने काम यतिबेला व्यवसायिकतातर्फ उन्मुख भएको छ ।

कुनैबेला चर्को मूल्यमा साहुबाट औजार तथा ढाकालाई चाहिने धागो किन्नेर कपडा तथा अन्य विभिन्न प्रकारका उत्पादन बनाएर बजारमा बेच्दै आएका घरेलू ढाका व्यवसायी म्याङलुङ नगरपालिकाले कोसेली घर सञ्चालन गरेपछि खुसी भएका छन् । कोसेली घरबाट ढाका बनाउन चाहिने औजार तथा धागो सुपथ मुल्यमा पाइने र कोसेली घरले नै साना तथा घरेलु उद्योगीले बनाएका ढाकाका सामान किन्ने भएपछि व्यवसायी खुसी भएका हुन् । गत आर्थिक वर्षमा म्याङलुङ नगरपालिकाको पाँच लाख र स्टार ढाका कपडा उद्योगको तीन लाख रुपैयाँको लगानीमा सो कोसेली घर सञ्चालनमा आएको हो ।

dhaka 1

नगरको नीति तथा कार्यक्रममा नै समेटिएको कोसेली घरमा तेह्रथुमे ढाकाका स–सानादेखि वृहत खालका उत्पादन खरिद तथा बिक्री हुँदै आएको छ । नगरले एक घर एक तानको उदेश्यका साथ कोसेली घरको अवधारण ल्याएको नगरपालिकाकी उप–प्रमुख पार्वति सानु डाँगीले जानकारी दिइन् । उनले यहाँका स्थानीयहरुले उत्पादन गरेको ढाकाको माग दिन प्रतिदिन बढ्दै गएको जानकारी दिँदै तिनै स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई बजारसम्म पुर्याउन नगरले कार्यक्रम ल्याएको बताइन् । ‘म्याङलुङ नगरपालिकाले एक घर एक तानको उदेश्यका साथ कोसेली घर सञ्चालन गरेको छ । यहाँका दिदीबहिनीहरुले धेरै ढाका उत्पादन गर्नुहुन्छ । यहाँ उत्पादन भएको ढाकाको माग लोभलाग्दो छ । उहाँहरुले नै विभिन्न ठाउँमा छरिएर गर्नुभएको ढाकाको उत्पादनलाई संकलन तथा बिक्री गर्ने काम हामीले गरेका छौँ’, उप–प्रमुख डाँगीले भनिन् ।

साथै उनले अन्य ठाउँमा भन्दा कोसेली घरमा १५ प्रतिशत कम मूल्यमा ढाकाको कारोबार हुने बताइन् । यता कोसेली घरकी सञ्चालिका कमला लिम्बूले नगरको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याएको जनकारी दिइन् । ‘हामीले नगरसँगको सझेदारीमा दुई वर्षअगाडि कोसेली घर सञ्चालनमा ल्याएका हौँ । नगरमा कोसेली घर सञ्चालन भएपछि सबैलाई फाइदा भएको छ । व्यवसायी साथीहरुले उचित मूल्य पाउनु भएको छ भने ग्राहकले पनि अन्यत्रभन्दा सस्तोमा ढाकाका सामान पाउनुभएको छ’, उनले भनिन् । साथै उनले कोसेली घरलाई अझै व्यवस्थीत बनाउँदै लैजाने बताइन् ।

dhaka 4

यस्तै सोही ठाउँमा लामो समयदेखि ढाकाका सामानको व्यवसाय गर्दै आएकी उज्वलता सुनुवारले ढाकाको व्यवसायबाट दैनिक २० हजारदेखि डेढ लाखसम्मको कारोबार गर्दै आएको बताइन् । साथै उनले पछिल्लो समय ढाकाका सामानको माग उच्च रहेको सुनाइन् । ‘मान्छे नै नआएपनि दिनमा ४० देखि ५० हजारसम्मको ढाका बिक्री हुन्छ । अझ अहिलेको जस्तो सिजनको बेला त एकै दिनमा डेढ लाखदेखि दुई लाखसम्मको बिक्री हुन्छ’, उनले भनिन् । उनले २०४९ सालदेखि ढाकाको व्यवसाय गर्दै आएको जानकारी गराउँदै पछिल्लो समय ढाकाको माग अझ बढेको बताइन् ।

कोसेली घरबाट ढाका उत्पादन गर्न आवश्यक सामान लगेर तयारी सामान बिक्री गर्दै आएकी एक महिलाले कोसेली घर खुलेकाले आफूलाई सहज भएको बताइन् । उनले आफूले उत्पादन गरेको कपडा यहीँ बिक्री हुने भएकाले आफू खुसी भएको बताइन् । ‘अहिले हामीलाई धेरै सजिलो भएको छ । हामीलाई चाहिने धागो तथा अन्य सामान पनि कोसेली घरबाट पाएका छौँ । अनि हामीले उत्पादन गरेको सामान पनि कोसेली घरमा नै बिक्री हुने गरेको छ यसले हामीलाई अझ सहज भएको छ’, उनले भनिन् ।

dhaka 2

उनीजस्तै वर्षौँदेखि तेह्रथुमका विभिन्न ठाउँमा ढाकाका सामान बनाउँदै आएका घरेलु उद्यमीको मनमा आशा पलाएको छ । कोसेली घरको दिर्घकालीन दायित्व बोध गर्दै नगरले यो आर्थिक वर्षमा पनि ५ लाख बजेट विनियोजन गरेको छ ।