इटहरीः हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाउने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिई मनाइँदै छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास गरिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । विगतका वर्षहरुमा छठ पर्वका अवसरमा नदी तथा तलाउका किनारमा गई सामूहिक रुपमा छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर पर्व मनाउन प्रशासनले गरेको आग्रहका कारण मानिसहरुले घरमै सिमित मानिसको सहभागितामा पर्व सम्पन्न गर्ने तयारी गरेका छन् । आफैँले व्रत गर्न नसक्ने श्रद्धालुले व्रत गरिरहेका अर्का व्यक्तिबाट समेत भाकल पूरा गराउने प्रचलन रहेको छ ।