इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ का जितेन्द्रप्रसाद सुवेदीले १६ कठ्ठा खेतियोग्य जमिनमा रुखविरुवा लगाएका छन् ।

पेसाले शिक्षक रहेका उनले ६ वर्षअगाडि ६ कठ्ठा जमिनबाट विरुवा लगाउने काम सुरु गरेका हुन् । विरलैले गर्ने यो पेशा उनले साथीहरुबाट निजी वनको विषयमा थाहा पाएको र त्यहीँबाट खेतमा विरुवा रोप्न प्रेरणा मिलेको बताएका छन् । ‘६ वर्षअगाडि जिल्ला वन कार्यालय सुनसरी जाँदा साथीहरुबाट निजी वनको विषयमा सुनेको थिएँ । त्यहाँबाट मैले सरकारी वनले मात्र नभएर निजी वनले पनि पर्यावरणलाई टेवा पुग्ने थाहा पाएँ र वन लगाउन सुरु गरेँ’, उनले भने ।

ban 1

यसरी विरुवा रोप्दा पर्यावरणसँगै व्यक्तिगत रुपमा पनि फाइदा पुग्ने उनको भनाइ छ । सुरुमा विरुवा रोप्ने कुरा परिवारसँग राख्दा सकरात्मक नभएको तर पछि यसको बारेमा थाहा पाएपछि सकरात्मक देखिएको उनले बताए । ‘सुरुमा बुबाले यो विरुवा भनेको भिर, पाखापखेरा र केही नहुने ठाउँमा लगाउने हो । खेति गर्ने ठाउँमा कहाँ विरुवा रोप्छन भन्ने कुरा गर्नुभयो । तर मैले हामीलाई चाहिने महत्वपूर्ण कुरा अक्सिजन पनि यहीबाट पाउने र यसबाट अन्य लाभ लिन सकिने कुरा परिवारलाई बुझाएपछि सहमत भएर बोटविरुवा रोपेका हौँ’, उनले भने ।

साथै उनले अरुलाई पनि निजी जमिनमा पनि विरुवा रोप्न र हरियो वन, नेपालको धन भन्ने उखानलाई वास्तविक रुपमा प्रतिबिम्बित गर्न अपिल गरे । उनले अहिले परिवारका लागि चाहिने दाउरा, स्याउला तथा घाँस आफ्नै वनबाट ल्याउन पाउँदा खुसी लागेको बताए ।