इटहरीः तेह्रथुमका किसानले आयआर्जनको राम्रो विकल्पका रुपमा अपनाएको किवी खेतिबाट अपेक्षाकृत लाभ लिन कठिन भएको छ ।

जिल्लाका छथर लगायतका विभिन्न स्थानीय तहमा किवीको व्यावसायिक उत्पादनमा लागेका किसानले उत्पादनको उचित मूल्य नपाएपछि उनीहरुलाई कृषि व्यवसाय अभिसाप बन्न पुगेको छ । उत्पादित किवी बजारमा पुर्याउन समस्या भएको र बजारको मागमा समेत अप्रत्यासित रुपमा गिरावट आएपछि उत्पादित किवी खेर गइरहेको छ । छथरका किवी किसान टेकबहादुर मगर आफूले उत्पादन गरेका किवी बिक्री नहुँदा आम्दानी प्रभावित भएको गुनासो गर्छन् ।

एउटै बगैँचाबाट अन्य समयमा एक सिजनमा तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका अर्का किसान जितबहादुरको पनि यस वर्ष सोचेजस्तो व्यवसाय भएन । उनका अनुसार प्रतिकिलो दुई सय रुपैयाँ पर्ने किवी प्रतिकिलो ६० रुपैयाँमा पनि बेच्न मुस्किल हुन थालेको छ ।

थोरै क्षेत्रफलमा लगाइएको खेतिबाट मनग्य आम्दानी हुने भएकाले यस क्षेत्रका प्राय सबै मानिसले किवी खेति गर्ने गरेका छन् । बजारीकरणको अभावमा उत्पादन खेर जाने अवस्था आएको छ । कृषकलाई उत्पादनका लागि प्रोत्साहित गर्न उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्न सके आन्तरिक उत्पादनबाट राम्रो फाइदा लिन सकिने देखिन्छ ।