विराटनगरः प्रदेश राजधानीलगायत नामाङ्कनबारे जनधारणाअनुसार निर्णय लिनुुपर्ने भन्दै इटहरी नागरिक समाज र उद्योग वाणिज्य सङ्घ इटहरीका प्रतिनिधिले मुुख्य मन्त्री र सभामुखलाई भेटेका छन् ।
इटहरीमा भएको बहसमा प्रस्तुत भएका कार्यपत्रसहित विराटनगर आएका २ संस्थाका नेतृत्वकर्ताले मुख्य मन्त्री र सभामुखलाई भेटेका हुन् । जनताको चाहनालाई सर्वोपरी स्थानमा राखी निर्णय लिन उनीहरूले सभामुख प्रदीपकुमार भण्डारीको ध्यानाकर्षण गराएका हुन् ।
सभामुख भण्डारीको कार्यकक्षमा मुख्यमन्त्री शेरधन राईसहित नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको समेत उपस्थिति रहेको थियो । इटहरीमा भएको कार्यक्रमबारे जानकारी दिँदै नागरिक समाज इटहरीका पूर्व अध्यक्ष कमलेश शर्मा पौडेलले प्रदेशभरका जनताको मतलाई आधार मानी प्रदेश नेतृत्वले निर्णय लिनुपर्ने राय प्रस्तुत गरे ।
नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले कार्यपत्रसहितको डकुमेन्ट मुुख्यमन्त्री राई, सभामुख भण्डारी र नेपाली काङ्ग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालालाई हस्तान्तरण गरे । राईले यस बारेमा संसदमै राय आउने भन्दै सभामुख समक्ष अभिभारा पन्छाए भने सभामुखले इटहरी आवाजबारे संसदमा जानकारी दिने बताए ।
त्यस्तै राजीव कोइरालाले आजदेखि संसदको बर्खे अधिवशन सकिएको जानकारी दिँदै आउने संसद बैठकमा इटहरीको आवाजबारे जानकारी दिने प्रतिबद्धता व्यक्त गरे । इटहरी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार विष्टले इटहरीलगायत पहाडी र हिमाली क्षेत्रका जनताको चाहनाअनुसार इटहरी प्रदेश राजधानी बन्न उपयुक्त ठाउँ रहँदारहँदै अन्यत्र राजधानी तोक्नुु राम्रो नभएको बताए ।