विराटनगरः पर्याप्त छलफल र अभ्यासको अभाव रहेको भन्दै प्रदेशको राजधानी र नामको टुङ्गो नलगाई प्रदेश १ संसदको बर्खे अधिवेशन सकिएको छ । आज अन्तिम बैठक बसी बाँकी मुद्दाबारे सही र स्पष्ट धारणा ल्याउन गृहकार्य गर्ने निस्कर्षसहित संसद बैठक स्थगित भएको हो ।

हिजो भएको सर्वदलीय बैठकको मर्मअनुरूप नै राजधानी र नामबारे साझा धरणा बनाउन पर्याप्त समय चाहिने निर्णय भएको प्रदेश १ का नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिएका छन् ।

मुुख्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशको नामकरण र राजधानीबारे छलफल गर्न सरकार तयार नभएको बताए । उनले सत्ता पक्षले साउन महिनामा नै यी २ विषयको टुुङ्गो लाग्ने बताए पनि असोजको अन्तिममा मात्र संसदमा यो विषयले प्रवेश पाउनुुले सरकार गम्भीर नभएको प्रस्ट भएको धारणा राखेका छन् ।

बर्खे अधिवेशनको अन्तिम बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लामो सम्बोधन गर्दै संविधान सभाले ५ वर्षमा टुङ्गो लगाउन नसकेका विषय प्रदेश संसदको काँधमा आएको भन्दै बुद्धिमतापूर्वक यो विषयको हल गर्नुपर्ने बताएका छन् । सबैको विवेकपूर्ण सोचले मात्र सही निर्णय आउने भन्दै छलफलका लागि पर्याप्त समय लिइने उनले बताए ।

यसअघि राई लगायत प्रदेश १ सरकारका शीर्ष नेताले साउन महिनासम्ममा प्रदेशको नाम र राजधानी टुुङ्गो लगाउने घोषणा गरेका थिए । तर, पुनः असोजसम्ममा यी दुई विषयले अन्तिम रूप पाउने बताइएको थियो । अन्ततः पर्याप्त छलफलको अभाव भएको भन्दै यो विषय किनारा लागेको हो ।

यस बारेमा धारणा बनाउन प्रदेश १ को नेकपा र नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक पनि बसेको छ । नेकपाको बैठक २ दिन बसेर स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी काङ्ग्रेसले भने सरकार पक्षको स्पष्ट धारणा नआएको भन्दै कस्तो रणनीति बनाउने भन्ने अन्योलमै बैठक सकेको थियो ।

विवादित र लामो समय थाँती रहेको विषय घोषणा गर्दा आसन्न महत्वपूर्ण चाडपर्वसमेत प्रभावित हुने सम्भावनाले गर्दा सर्वदलीय निर्णयअनुसार नै यो मुुद्दा थाँती राखिएको सांसदको भनाइ छ ।