बेलबारीः बेलबारी बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती भेटिएका छन् । मङ्गलबार गरिएको अनुगमनको क्रममा मिठाइ पसलमा बेच्न राखिएका केही मिठाइमा झिँगा भेटिएको छ भने अन्य केही किराना पसलमा म्याद गुज्रिएका सामग्री भेटिएको बजार अनुगमन समितिका संयोजक तथा नगरपालिकाका शाखा अधिकृत महेन्द्र खड्काले बताए ।

केही जुत्ता चप्पल तथा फेन्सी कपडा पसलमा गरिएको अनुगमनमा खरिद मूल्यको ३ गुणा बढीसम्म रकम लिएर व्यापारीले सामान बेच्ने गरेको पाइएको अनुगमन समितिले जनाएको छ । अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका सामग्री तथा अखाद्य वस्तुलाई नष्ट गरिएको समितिले जनाएको छ ।

चाडपर्व नजिकिँदै जाँदा बेलबारी नगरपालिकाले धमाधम बजार अनुगमन गर्न थालेको छ । आइतबार लालभित्तीमा सो समितिले अनुगमन गरेको छ । उपभोक्ताहरू नठगिऊन् भनेर अनुगमन गर्न थालिएको समितिले जनाएको छ ।

यसअघि गत आइतबार बेलबारी तथा लालभित्तीमा गरिएको अनुगमनका क्रममा अधिकांश पसल दर्ता नभई चलेको, सामान किनेपछि बिल नदिने गरेको पाइएको संयोजक खड्काले बताए । अनुगमन टोलीले व्यवसाय दर्ता नभएका र मूल्यसूची नराखेका पसललाई ७ दिनभित्र मापदण्ड पु¥याउनसमेत निर्देशन दिएको छ ।

अनुगमन टोलीले मासु पसल, सुन पसल, इलेक्ट्रोनिक्स, किराना पसल, कपडा पसल, औषधि पसल, एग्रोभेटलगायतको अनुगमन गरिएको थियो । टोलीले एक हप्तापछि पुन अनुगमन गर्ने समेत जनाएको छ ।

belbari anugaman (2) belbari anugaman (3)