इटहरीः नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ शाखाकोे आयोजनामा सुनसरीको इटहरीमा गत आइतबार वृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममार्फत् महासंघले कोरोना महामारीबाट प्रभावित भएको चलचित्र क्षेत्रलाई पूनर्जीवित तुल्याउनका लागि आगामी दिनमा अख्तियार गर्नुपर्ने रणनीतिबारे छलफल गरेको छ । जस अनुसार आगामी वैशाखमा प्रदेश १ मा नेपाली चलचित्रको वृहत महोत्सव आयोजना गर्ने कार्ययोजना तय भएको छ । नेपाली चलचित्रको व्यवसाय तथा निर्माणका लागि प्रदेश १ एउटा महत्वपूर्ण गन्तव्य रहेको तथ्य बोध गरी यस क्षेत्रका चलचित्रकर्मीको मनोबल उच्च बनाउनुका साथै पर्यटकीय गतिविधिसमेत बढाउने उद्देश्यले महोत्सव आयोजना गरिने भएको हो ।

महोत्सवका क्रममा राष्ट्रिय स्तरका नेपाली चलचित्रहरुका साथै प्रदेशभर स्थानीय स्तरमा निर्मित नेपाली चलचित्रहरुको प्रदर्शनी गरिने छ । महासंघका अध्यक्ष अरुणकुमार प्रधानका अनुसार सोही समारोहका बीच प्रदेशभरका चलचित्रकर्मीको जानकारी समावेस गरी तयार पारिएको स्मारिका विमोचन गरिनेछ भने अग्रज चलचित्रकर्मीको सम्मानका साथै चलचित्र कार्यशालासमेत आयोजना गरिनेछ ।

सरकारले घोषणा गरेको चलचित्र महोत्सव निर्धारित मिति २०७६ साल कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुन नसकी स्थगित रहेको भन्दै आफूहरुकै अगुवाइमा महोत्सव आयोजनाको तयारी गरिएको अध्यक्ष प्रधानले स्पष्ट पारे । उनका अनुसार महोत्सव वार्षिक रुपमा आयोजना गरिनेछ । कुनै दलमा आबद्ध नरही स्वतन्त्र रुपमा चलिरहेको महासंघमा हालसम्म प्रदेशभरका विभिन्न १३ ओटा पेसागत संगठनसमेत जोडिएको महासचिव दिनेश कोइरालाले बताए ।

यसैबीच, महासंघले निर्मात्री, निर्देशक तथा कलाकार दिपाश्री निरौला तथा वरिष्ठ चलचित्र निर्माता चिरन्जिवी बस्नेतलाई महासंघको प्रदेश १ स्तरीय सल्लाहकारमा मनोनित गरेको थियो ।