धरानः धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पोषण तथा आत्मरक्षासम्बन्धी तालिम दिइएको छ ।
धरान जेसीजसहित लियो क्लब अफ बुढासुब्बा र जुनियर जेसीज धरानको संयुक्त आयोजनामा मङ्गलबार विद्यार्थीहरूलाई पोषण तथा आत्मरक्षासम्बन्धी तालिम दिइएको हो । तालिममा मानिसको शरीरमा चाहिने आवश्यक पोषण तत्वको विषयमा जानकारी गराइएको थियो ।
बालबालिकाहरूमा पौष्टिक तत्वको कमी भए कुपोषणजस्ता रोग लाग्ने हुँदा विद्यालय स्तरबाटै ज्ञान दिनको लागि तालिमको आयोजना गरिएको लियो क्लब अफ बुढासुब्बाका अध्यक्ष सुशन निरौलाले बताए ।
विद्यार्थीलाई आत्मरक्षासम्बन्धी तालिम
कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का छात्राहरूलाई आत्मरक्षासम्बन्धी तालिम पनि दिइएको थियो । अहिले देशभर बलात्कार, महिला हिंसाजस्ता जघन्य घटना बढिरहेकाले त्यसबाट बच्ने विभिन्न कलाकौशलहरू सिकाइएको थियो ।
तालिमको सहजीकरण तेक्वान्दोका खेलाडी मनिसा रसाइली र विक्रम लिम्बूले गरेका थिए । यस्तै, पोषणसम्बन्धी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका सन्दीप लामिछाने र ज्योति आचार्यले सहजीकरण गरेका थिए ।