इलामः इलामको पर्यटकीय क्षेत्र कन्याममा घोडा चढेर सेल्फी लिएको ५० रुपैयाँ लाग्छ । सूर्याेदय नगरपालिकामा रहेको कन्याम क्षेत्रमा घोडचढी व्यवसाय गर्दै आएका जमानसिंह तामाङका अनुसार छोटो तथा लामो दूरीको घोडचढी नगर्नेलाई यस्तो प्याकेज ल्याइएको हो ।
छोटो दूरीमा प्रतिव्यक्ति ३ सय र लामो दूरीमा ६ सय रुपैयाँ शुल्क लाग्ने भएकाले सेल्फी लिन मात्रै चाहेमा ५० रुपैयाँ लिने गरेको तामाङले बताए । पालो सिस्टममा पालो आउन ढिलो हुनाले घोडामा नचढी सेल्फी लिँदा भने शुल्क नलाग्ने व्यवसायी बताउँछन् ।
हाल कन्याममा ३९ वटा घोडा छन् । घोडा किन्दा प्रति घोडा १ लाख रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन् । घोडचढी गर्नेको सङ्ख्या बढेपछि स्थानीय सरकारले कर लिन थालेको छ । प्रति वर्ष एक घोडाको नवीकरण शुल्क २ हजार र अन्य सरसफाइ शुल्क लिने व्यवसायी सोमबहादुर तामाङ बताउँछन् ।