सङ्खुवासभाः प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले जनताको अपेक्षाअनुरूप काम गर्न सरकार अग्रसर भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभाको आयोजनामा भएको दशैं, तिहार तथा छठको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गौतमले यस्तो बताएका हुन् ।
जनताको विश्वासको आधारमा दुई तिहाई बहुमतको वर्तमान सरकारले जनताले अपेक्षा गरेका मुद्दाहरूलाई सम्बोधन गर्न सके अथवा नसकेको भन्ने बारेमा आफैँले समीक्षा गर्न नसकेको बताए ।
‘हामीले जनताको बीचमा गरेका कबोलहरू, हाम्रा घोषणापत्रहरूमा हाम्रा अभिव्यक्तिहरूमा हामीले प्रतिबद्धता गरेका थियौँ,’ उनले भने, ‘त्यसलाई हामीले कार्यान्वयन गर्न सक्यौँ कि सकेनौँ, हाम्रो गति कहाँ रोकियो भन्ने बारेमा समग्र समीक्षा गरेर पार्टी र सरकार नयाँ ढङ्गले अघि बढ्छ ।’ उनले सरकारका कामहरू सकारात्मक ढङ्गमा अघि बढिरहेको दाबी गरे ।
कार्यक्रममा बोल्दै सांसद गौतमले सङ्खुवासभामा छिटै पार्टीको सङ्गठन निर्माण हुने बताए । २ ठूला पार्टीको एकीकरणपछि अब जिल्लामा छिटै पार्टीका सम्पूर्ण सङ्गठनहरूको निर्माण गर्ने उनको भनाइ थियो ।
सांसद गौतमले सङ्खुवासभाको विकासको लागि आफ्नो पार्टीलाई जनताले मत दिएकाले मतको कदर गर्दै सङ्खुवासभाको विकासमा आफू कटिबद्ध भएर लागि परेको जिकिर गरे । उनले आफूलाई विश्वास गर्ने जनतालाई आफूले विश्वासघात नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । त्यसका लागि जिल्लाका सबै राजनीतिक दलसँग एकताबद्ध भएर अघि बढ्ने पनि उनले उल्लेख गरे ।
जोगबनी–किमाथाङ्का सडक तोकिएकै मितिमा सम्पन्न गर्न आफूले निरन्तर खबरदारी गरिरहेको उनको भनाइ थियो । हाल सो सडकखण्ड निर्माणमा कुनै विवाद नरहेको पनि उनले बताए ।