झापाः मेचीनगर नगरपालिकाको वडा नम्बर–३ को नवनिर्मित वडा कार्यालयको नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बुधबार उद्घाटन गरेकी छिन् । मेचीनगरका १५ वटा वडामध्ये पहिलो पटक ३ नम्बर वडाको नयाँ भवन निर्माण भएको हो ।

स्थानीय तेजराज पोखरेल र भीमकुमारी पोखरेलले २ कठ्ठा, बिन्दबहादुर भुजेल तथा सावित्रा भुजेलले १ कठ्ठा, मायादेवी फुयाल र नेत्रकुमार फुयालले १÷१ कठ्ठा गरी करिब ३५ लाख रुपैयाँ मूल्य बराबरको कुल ५ कठ्ठा जग्गा नगरपालिकालाई वडा कार्यालय निर्माणका लागि निःशुल्क उपलब्ध गराएका थिए । सोही जग्गामा करिब २५ लाख रुपैयाँँको लागतमा ४ कोठे १ तले भवन निर्माण भएको हो ।

वडाध्यक्ष हर्कबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपप्रमुख उप्रेती, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, नगरपालिकाका प्रशासन प्रमुख अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्य कृष्ण कनाललगायतले दोसल्लासहित अबिर, टीका र सम्मानपत्रद्वारा जग्गादातालाई सम्मान गरिएको थियो ।