इटहरीः इटहरी बजारको अनुगमनको क्रममा कुहिएको मासुसमेत बेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगेन्द्र आचार्यका अनुसार केही पसलमा खसी र कुखुराको कुहिएको मासुसमेत बेच्न राखेको पाइएको हो । अनुगमनमा रहेका जिल्ला भेटेनरी अस्पतालका डा. मनोजकुमार महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यको हिसाबले खानयोग्य नरहेको पाइएको बताए ।
‘पशु बधशाला तथा मासु जाँच नियमावली २०५७ बमोजिमको मापदण्ड कसैले पनि पालना गरेको पाइएन,’ महतोले भने, ‘पसलमा जाली र सिसा लगाउनुपर्ने, टायल लगाएर सजिलै सफा गर्न सकिने बनाउनुपर्ने, मूल्यसूची र साइनबोर्ड राखिनुपर्ने, औजार र जोख्ने सामान सफा सुग्घर हुनुपर्नेलगायतका प्रावधान पूरा गरेको पाइएन ।’
मासुका कारण २ सय ७५ किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने महतोले बताए । खुला रूपमा नालीका छेउमा समेत मासु पसल राखेको पाइएको उनले बताए । अधिकांश मासु पसलेले व्यवसाय दर्ता नै नगरी पसल सञ्चालन गरिरहेको पाइएको बजार अनुगमन टोलीका संयोजक विजयकुमार मगरले बताए । पहिलो पटक सुधारका लागि सचेत गराइएको र अर्को पटक अनुगमन गर्दा सुधार नगरे कारवाहीको प्रक्रियामा जाने मगरले प्रष्ट पारे ।
उद्योग वाणिज्य सङ्घ इटहरीका वाणिज्य सचिव उमेश दाहालले मासु पसलको नाजुक अवस्था भेटिएको, ढक तराजुमा समेत ढुङ्गा राखेको पाइएकाले उपमहानगरले व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।