इटहरीः दशैंको माहोलले चोक, बजार छपक्कै छोपेको छ । बालबालिकाहरू स्कुल छुट्टी हुने भयो र खेल्न पाइने भयो भनेर पुलकित हुँदै छन् । शहर पसेकाहरू धमाधम गाउँ फिर्दैछन् । विदेशिएका नेपालीहरू धमाधम देश फर्कँदैछन् ।

हरेक परिवारमा दशंैको अन्तिम तयारी शुरु भएको छ । कतिपय दशैंको खर्च जोहो गर्न लागेका छन् । पछिल्लो समय महङ्गिँदै गएको दशंैले धेरैलाई गाँजेको छ । उता ज्येष्ठ नागरिक भने दशैंको रौनक घटेकोमा चिन्तित छन् ।

इटहरी उपमहानगरभित्रको ज्येष्ठ चौतारीमा भेटिएका ज्येष्ठ नागरिक पुरानो दशैँ सम्झँदै चिन्तित थिए । इटहरी–९ का पदमप्रसाद बराल आजकालको दशैँ दशैजस्तै लाग्न छाडेको बताउँछन् । ‘पहिला दशैंको स्वागतमा घरदेखि बाटो सिँगारिन्थ्यो । ढिकीमा चिउरा कुट्ने, खसी काट्ने र गाउँघरमा रमाइलो गर्ने गरिन्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले संधै दशैंजस्तै हुन्छ । सबैसँग फोनमा कुराकानी हुन्छ । भेटघाट र आफन्तको महत्व कम हुन थालेको छ ।’

इटहरी–७ का ७६ वर्षीय पशुपति कार्की दशैंको रौनक हराउँदै गएकोमा चिन्तित देखिन्छन् । पहिला दशैंमा मात्र चामलको भात खान पाइन्थ्यो तर अहिले सधंै मसिना चामलको भात खान पाइन्छ त्यसैले पनि दशैं खास हुन छाडेको उनको बुझाइ छ । ‘दुर्गा पूजा गर्ने र रोटे पिङ खेल्ने चलन कता हरायो,’ उनी भन्छन्, ‘अहिले त दशैं लाग्न हुँदैन जाँडरक्सी खाएर मात्नेदेखि होहल्ला गर्ने धेरै हुन्छन् । बाहिर हिँड्नै असुरक्षित हुन्छ ।’
९१ वर्षका नरबहादुर बानियाँ पनि यो चाडपर्वमा आएको परिवर्तनप्रति खासै सन्तुष्ट छैनन् । ‘दशैंको बेला नयाँ लुगा लगाउने रौनकले १ महिना अगाडिदेखि मनमा खुशी हुन्थ्यो,’ उनी भन्छन्, ‘खाडीका लुगा लगाउन पाए पनि दशंै नै आएजस्तो हुन्थ्यो । तर अहिले मोबाइल भए आफन्त नै बिर्सिने चलन आयो ।’
इटहरी–४ निवासी हर्कबहादुर बरालको भने फरक धारणा छ । उनी समाज परिवर्तनशील भएकाले त्यससँगै संस्कार र चालचलन पनि परिवर्तन हुने बताउँछन् । पहिला आफूले कसरी दशैं मनाइयो भन्ने र सम्झिएर बस्ने भन्दा पनि अहिलेको पुस्ताले जसरी मनाउँछ आफूले पनि त्यसरी नै मनाउनुपर्ने उनको भनाइ छ ।

७० वर्षीया तुलसा तिम्सिनाको भनाइ पनि हर्कबहादुरको जस्तै छ । पुरानो सम्झिएर रुनुभन्दा छोराबुहारीसँग रमाइलो गर्नुपर्ने उनको तर्क छ ।
दशैं अर्थात् नेपालीहरूको महान् चाड । हिन्दू धर्मावलम्बीहरूले मात्र नभएर धेरै नेपालीहरूले मनाउने चाड हो दशैं । धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्वको मेरुदण्डको रूपमा रहेको यस पर्वले हरेक नेपालीको माझ बन्धुत्वको भावना जागृत गराइरहेको पाइन्छ ।

तर हरेक वर्ष दशैंलगायतका पर्वप्रति नेपालीको आकर्षण घट्दै गइरहेको छ । इन्टरनेटको बढ्दो पहुँचका कारण आफन्तसँगको कुराकानी र सूचना भेटघाटमा मात्र निर्भर हुन छाड्यो, त्यसैले पनि दशैंको महत्व केही कमजोर भएको समाजशास्त्रका प्राध्यापक अर्जुन उप्रेतीको भनाइ छ । ‘नेपालीहरू जहाँ जुन संस्कृतिमा घुलमिल भए त्यहीअनुसारको व्यवहार पनि परिवर्तन भएको देखिन्छ त्यसैले नेपाली संस्कृतिमा परिवर्तन आउनु स्वभाविकै हो,’ उनी भन्छन्, ‘पूँजीवादको बढ्दो प्रभावले आर्थिक आधारमा हैसियत निर्धारण हुन थाल्यो । त्यसैले पनि दशंैलगायतका पर्वहरू पूँजीपति वर्गको लागि सहज र निम्न वर्गको लागि सकसपूर्ण बन्दै गइरहेको छ ।’