अदिस अबाबाः पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने रेडक्रसले जनाएको छ । प्रधानमन्त्री अबी अहमदले विद्रोहीको हमला निन्दनीय भएको भन्दै कसुरदारलाई कारबाही गरिने चेतावनी दिएका छन् । विद्रोहीहरुले मेटेकल क्षेत्रको बुलेन काउन्टीको बेकोजी गाउँमा सर्वसाधारणमाथि जथाभावी गोली प्रहार गरेका थिए । विद्रोहीको आक्रमणका कारण चार लाखभन्दा बढी विस्थापित भएको स्थानीय मानवअधिकार आयोगले जनाएको छ ।
जातीय हिंसा भइरहेको सो स्थानमा विद्रोहीले पटक पटक व्यक्ति हत्या र अपहरणका घटनाहरु दोहोर्याइरहेको अधिकारकर्मीहरुले जनाएका छन् । विद्रोहीको आक्रमणलगत्तै सरकारी सेनाले सुरक्षा दिएपनि सर्वसाधारण भने अझै त्रसित नै रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत सेप्टेम्बरदेखि विद्रोहीहरुले सो स्थानलाई निशाना बनाउँदै पटक पटक हिंसात्मक आक्रमणहरु गरिरहेका छन् । इथियोपियामा आगामी जुनमा निर्वाचनको घोषणा भएको छ । तर त्यसअघि नै विभिन्न जातीय समूहहरुबीच पटक पटक झडप हुँदा कयौं सर्वसाधारण मारिनुका साथै विस्थापित पनि भएका छन् । युरोपियन युसनियनले विज्ञप्ती जारी गरेर जातीय हिंसा र मानवअधिकार उल्लंघनका घटना नदोहो¥याउन विद्रोहीहरुलाई चेतावनी दिएको छ । -एजेन्सी