विराटनगरः मेरिल्याण्ड कलेज विराटनगरमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सामाजिक अभियानमा जुटेका छन् । व्यापार व्यवस्थापन (बिबिएम) विषयमा अध्ययनरत कलेजका ३० जना विद्यार्थी अध्ययनसँगै किशोरी स्वास्थ्य सुरक्षाको अभियानमा जुटेका हुन् ।
अध्ययनसँगै सामाजिक योगदानबाट प्रेरित भएर उनीहरू अहिले कलेजमै सेनेटरी प्याड बनाउँछन् । बनाएका सेनेटरी प्याड ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत किशोरीसम्म पु¥याउँछन् ।
ग्रामीण बस्तीका छात्राहरूमा सेनेटरी प्याडको प्रयोग बारे ज्ञान नहुने भएकाले त्यो ज्ञान बाँड्न र प्याड बनाउने सीप सिकाउन अभियान चालिएको कलेजले जनाएको छ । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी चिराग अग्रवालका अनुसार किशोरीले आफैं प्याड बनाउन सक्ने सीप र प्याड प्रयोग बारेको ज्ञान दिलाउँदै विद्यालयमा जाने कामलाई फुर्सदको सदुपयोगमा राखिएको छ ।
सो अभियानमा कलेजमा अध्ययनरत छात्रा मात्रै छैनन् । छात्रले समेत सेनेटरी प्याड निर्माणका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन मिलाउनेदेखि छात्रा सरहकै कामहरू गर्दै आएका छन् । अभियानमा संलग्न विद्यार्थीहरूले पहिलो चरणमा सेनेटरी प्याड आफैं बनाउने र बाँड्ने, दोस्रो चरणमा प्रयोग भएको अथवा नभएको बुझ्ने र तेस्रो चरणमा आवश्यक पर्दा आफ्ना लागि आफैं प्याड बनाउने ज्ञान र सीप सिकाउँदै आएका छन् ।
आफ्नै घरमा भएका कपडाको प्रयोग गरेर बनाउन सकिने सेनेटरी प्याडलाई कसरी सफा बनाउने भन्ने कुरा सिकाउने गरिएको अभियान संयोजक कृपा श्रेष्ठ बताउँछिन् । रजस्वला हुँदा फोहोर कपडाको प्रयोगले सङ्क्रमणको जोखिम हुन्छ । त्यस्तो जोखिम न्यूनीकरण समेत विद्यार्थी अभियानको लक्ष्य रहेको श्रेष्ठ बताउँछिन् ।
विद्यालय उमेर समूहका किशोरीले घरपरिवारसँग भन्न नसक्ने र तत्काल समस्या टार्न जस्तोसुकै कपडा पनि प्रयोग गर्न सक्ने हुनाले सेनेटरी प्याडको प्रयोगबारे जानकारी दिनु आवश्यक रहेको श्रेष्ठको बुझाइ छ ।
किशोरी स्वास्थ्यका लागि शुरु गरेको विद्यार्थीहरूको यो अभियानलाई मेरिल्याण्ड कलेजले समेत आवश्यक सहयोग गर्दै आएको छ । कलेजको सहयोगमा विद्यार्थीहरूले सुनसरीको चिमडीस्थित नवदुर्गा विद्यालयका ३० किशोरीलाई प्याड उपलब्ध गराएका छन् । प्याड लिएका किशोरीहरूलाई रजस्वला हुँदा सरसफाइबारेको ज्ञान र प्याडको प्रयोग बारे सचेतसमेत गराइएको कलेजका निर्देशक भेषराज पोखरेल बताउँछन् ।