इटहरीः इटहरी स्थानीय सरकार प्रमुख द्वारिकलाल चौधरीले प्रदेश मुुख्यमन्त्री शेरधन राईलाई लक्षित गर्दै ललीपप दिएर मात्र नपुुग्ने बताएका छन् ।
इटहरी–४ हलगडामा अवस्थित यातायात पूर्वाधार निर्देशनालयको उद्घाटनको क्रममा आज भेला भएका मुुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सांसदद्वय सर्वध्वज साँवा र लीलम बस्नेतर्फ लक्षित गर्दै चौधरीले यस्तो भनेका हुन् ।
उनले भर्खरै बसेको नेकपाका सांसदको बैठकमा बोल्ने अधिकांश सांसदले इटहरी आसपासमा प्रदेश राजधानी राख्नुुपर्ने राय राखेको र यहाँको जनताको माग पनि यही भएको हुँदा राजधानी पहिलो माग रहेको बताएका छन् ।
सरकारी अड्डा बाँडफाँडको योजना चलिरहेको भन्दै इटहरीलाई फकाउन मात्र खोजिएकोतर्फ लक्षित गर्दै इटहरी सरकारका प्रमुख चौधरीले भने, ‘यही ठाउँलाई आफ्नो कुरा राख्ने उपयुक्त मौका ठानेको छु, हामी इटहरीवासी ललीपपले मात्र चित्त बुुझाउँदैनौँ ।’
आज मुख्यमन्त्री राईले इटहरीमा यातायात पूर्वाधार निर्देशनालयको उद्घाटन गरेका छन् । उनले केही दिन अघि धनकुुटामा शिक्षा र स्वास्थ्य निर्देशनालय उद्घाटन गरेका थिए ।
प्रदेश राजधानीको माग गरिएका शहरहरूमा विराटनगर, इटहरी, धरान र धनकुुटा रहेका छन् । प्रदेश सरकारले यी सबै ठाउँको मागलाई सम्बोधन गर्ने प्रयास जारी राखेको छ ।
आज इटहरीमा उद्घाटन भएको कार्यालयले प्रदेशका १४ जिल्लाभित्र हुने सडकको पूर्वाधार पुलको निर्माण तथा मर्मतबारे काम सम्पन्न गर्नेछ । यस वर्ष यस कार्यालयबाट ६ अर्ब बराबरको बजेटका काम हुने कार्यालय प्रमुख राजेशप्रसाद घिमिरेले जनाए ।