इटहरीः संविधानको मौलिक हकको रूपमा रहेको सूचनाको हकका अभियन्ताहरूको इटहरी सञ्जाल अध्यक्षमा प्रदेश पोर्टलकर्मी विनय बाह्रकोटी भएका छन् । आज इटहरीमा भएको सूचनाका हकका अभियन्ताहरूको भेलाले बाह्रकोटीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ बमोजिम सार्वजनिक निकायबाट सूचना लिने बलियो सञ्जाल बनाउने अध्यक्ष बाह्रकोटीले बताए । उनले भने, ‘अब स्थानीय सरकार, सरकारी तथा सार्वजनिक निकाय, देशी तथा विदेशी गैरसरकारी संंस्था, प्रतिष्ठान, क्लबदेखि टोल विकास संस्थासम्मका सूचनाहरू लिइनेछ ।’

आफूले पहिले सूचना माग्दा सूचना नदिएमा मुद्दा हाल्ने काम भने नगरेको बताउँदै बाह्रकोटीले अब भने मुद्दासमेत हाल्ने बताए । उनले भने, ‘सूचनाको संवैधानिक हकको आधार र सूचना आयोगसमेत भएकाले सञ्जाललाई मुद्दा दायर गर्न समस्या छैन ।’

सार्वजनिक सरोकारका विषयमा सूचना माग गरेर नागरिकको सुसूचित हुने अधिकारको प्रत्याभूति गराउन र भ्रष्टाचारको खबरदारी गर्न आफू सक्रिय हुने बाह्रकोटीले बताए ।