इटहरीः समाजमा भएका सुक्ष्म तथा जटिल प्रकारका अपराध तथा घटनाहरुलाई कम गर्ने हेतुले स्थानीय तहमा न्यायिक समिति बनेको छ ।

नेपालको संविधान २०७२ मा न्याय सम्पादनसम्बन्धी तीन तहको अदालतको व्यवस्था गरिएको छ । त्यसका अलावा संविधानको भाग १७ को धारा २१७ मा व्यवस्था गरिएको न्यायिक समितिअन्र्तगत उपधारा १ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न पालिकाहरुले प्रत्येक स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरेको छ । उप–प्रमुख वा उपाध्यक्षको संयजकत्वमा दुई जना जनप्रतिनिधि सदस्य रहेने गरी ३ सदस्यीय न्यायिक समिति बनेको हुन्छ । छिटो, सुलभ र सहज न्याय दिनु स्थानीय तहको न्यायिक समितिको मुख्य उद्देश्य रहेको छ ।

यही संवैधानीक व्यवस्थालाई टेकेर नेपालका ७५३ वटै स्थानीय तहहरुले न्यायिक समिति गठन गरका छन् । प्रायः नेपालका धेरैजसो स्थानीय तहमा उप–प्रमुख वा उपाध्यक्षमा महिला निर्वाचित भएका छन् । ‘उप’मै चित्त बुझाउनु परेको ति महिलाहरुलाई एक महत्वपूर्ण जिम्मेवारी आएको छ । न्याय सम्पादन आफैँमा एक जटिल कार्य हो । त्यही जटिल कार्यलाई जिम्मेवारी सम्झेर निष्ठापूर्वक न्यायिक समितिले आफ्नो कार्य सम्पादन गरिहेको छ । प्रदेश १ का पनि सबै पालिकाहरुमा न्यायिक समिति बनेको छ ।

न्यायिक समितिको संयोजक बन्न पाउनु मेरा लागि अवसर होः उप–प्रमुख इन्दिरा कार्की

धेरैले न्याय दिने काम जटिल हुने भएकाले हत्तपत्त यसको जिम्मेवारी लिन चाहँदैनन् । तर, मोरङको विराटनगर महानगरपालिकाकी उप–प्रमुख इन्दिर कार्कीले भने न्यायिक समितिको जिम्मेवारीलाई अवसरको रुपमा लिएको जानकारी दिइन् । उनले महिलाले निष्पक्ष न्याय सम्पादन गर्ने भएकाले देशका अधिकांश स्थानीय तहमा महिला उप–प्रमुख हुनु सुखद पक्ष भएको बताइन् । ‘मैले आफ्नो कुरा गर्दा न्यायिक समितिको जिम्मेवारी लिँदा समस्या परेको छैन । अझै मलाई के लागेको छ भने, धेरै महिला उप–प्रमुख छन् र न्यायिक समितिको संयोजक पनि छन् यसो हुँदा महिलालाई न्याय दिन पनि सजिलो हुन्छ । किनभने महिलाको न्यायिक मन पनि हुन्छ । महिलाले संबेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छन्, चाहे त्यो घरको होस् या घर बाहिरको’, उनले भनिन् ।

न्यायिक समिति बनेको तीन वर्षको यो अवधिका आफूले धेरै कुराको बारेमा अनुभव गर्न पाएको कार्कीको भनाइ छ । उनले अदालतको प्रक्रिया धेरै लामो हुनुको साथै झण्झटिलो हुने भएकाले सरकारले स्थानीय तहमा न्यायिक समितिको अवधारण ल्याउनु सकाराकात्मक भएको टिप्पणी गरिन् । साथै उनले जतनाको घरदैलोमा नै जनप्रतिनिधि जाने भएकाले जनताले जुसुकै ठाउँमा पनि आफ्नो गुनासो तथा समस्या राख्न पाउने बताइन् । ‘मलाई यो राज्यको स्थानीय तहमा न्यायिक समिति बनाउने प्रक्रिया कसरी आयोजस्तो लाग्छ भने, अदालतको काम ढिलो हुनेभएकाले समय धेरै लाग्ने खर्च धेरै लाग्ने र निम्न वर्गको पहुँच त्यहाँसम्म नपुग्ने भएकाले स्थानीय तहमा न्यायिक समितिको अवधारण आएको हुनुपर्छ । हामीलाई कसरी सजिलो छ भने, हामीलाई तीनै स्थानीयहरुले आफ्नो प्रतिनिधि बनाएर यहाँ पठाउन भएको हो त्यसैले उहाँहरुको कुरा सुन्न हामीलाई सजिलो छ । साथै उहाँहरुलाई पनि हामीसमक्ष आइपुग्न सजिलो छ । जुनसुकै ठाउँमा पनि आफ्ना कुरा राख्न उहाँहरुलाई सजिलो छ । मैले पनि बजारमा सब्जी किन्दै गर्दा बाटोमा हिँड्दै गर्दा उहाँहरुको समस्या सुनेको धेरै उदाहरणहरु छन्’, उनले भनिन् ।

साथै उनले महानगरपालिकाको न्यायिक समितिमा धेरैजसो घरजग्गा मिचेको मुद्दा वा समस्या लिएर आउने गरेको जानकारी दिइन् । त्यसपछि महिला हिंसा, सम्बन्धविच्छेद र पुरुष हिंसाका मुद्दा आउने गरेको कार्कीको भनाइ छ ।

धरानमा धेरै मुद्दाह? मेलमिलापबाट टुङ्याएका छौँः उप–प्रमुख मञ्जु भण्डारी

सुनसरीको धरान उपमहानगरपालिकाकी उप–प्रमुख मञ्जु भण्डारीले उपमहानगरको न्यायिक समितिमा आएका मुद्दाहरुमा अधिकांश मुद्दाह? मेलमिलापबाटै टुङ्याएको जानकारी दिइन् । दुवै पक्ष मिल्न नसक्ने अस्थामा पनि सकेसम्म मेलमिलापबाटै ती समस्याको हल गर्ने गरेको भण्डारीले जानकारी दिइन् ।

‘हामीले कुनै पनि मुद्दालाई इजालासमा लानुपूर्र्व दुवै पक्षलाई सम्झाइबुझाइ गर्छौँ । सकेसम्म उहाँहरुलाई मेलमिलाप गराएर नै पठाउँछौँ । परिवारका समस्या यस्ता हुन्छन्, यसलाई यो तरिकाबाट हल गर्न सकिन्छ र मेलमिलाप गर्दा हुने फाइदाको विषयमा हामी दुवै पक्षलाई जानकारी गराउँछौँ । अब मिल्दै नमिल्ने हुँदा पनि हामी सकेसम्म उहाँहरुलाई धेरै पटक सचेत गराएर मेलमिलाप नै गर्ने गर्छौँ । नभएको अवस्थामा नगरको न्यायिक समितिको इजालासमा लगेर मुद्दा छिनोफानो गर्छौँ’, उनले भनिन् ।

उपमहानगरको न्यायिक समितिले सम्झाइबुझाइ गर्दा श्रीमान श्रीमतीबीच सम्बन्धविच्छेद हुनै लागेको तर पछि आएर हामी सँगै बस्छौँ भनेका धेरै उदाहरण आफूले देखेको भण्डारीले जानकारी दिइन् । धरानमा पनि धेरैजसो जग्गा मिचेको विषय वा जग्गाको विवादहरु आउने गरेको भण्डारीको भनाइ छ ।