सङ्खुवासभाः कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग विदेशमा समेत हुन थालेपछि अल्लो व्यवसायी आकर्षित भएका छन् । कृषि पेशामा सोचेअनुसारको कमाइ नभएकाले किसान निराश बनेको बेला अल्लोतर्फ व्यवसायीको आकर्षण बढेकाले किसान पनि खुशी छन् ।
बजार मूल्य पनि राम्रो भएको र जिल्ला बाहिर तथा अन्तर्राष्ट्रिय स्तरसम्म पनि अल्लोको कपडाको निर्यात हुन थालेका कारण यसको व्यवसायमा लागेको व्यापारीहरू बताउँछन् ।
जिल्लामा काम गरेर अन्य क्षेत्रमा सर्वा भएर जाने प्रमुख जिल्ला अधिकारी लगायत सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका कर्मचारीले समेत कोसेलीका रूपमा अल्लोको कपडा लैजाने गरेका छन् । अल्लोको कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषता रहेको सभापोखरी गाउँपालिकाका व्यापारी विश्व लिम्बूले बताए । अल्लोको झोला, लेडिज ब्याग, पर्सजस्ता विभिन्न सामग्रीहरू बनाएर बिक्री गर्ने गरेको लिम्बू बताउँछन् ।
आन्तरिक पर्यटक र कर्मचारीले नातेदार तथा साथीलाई अल्लोको कपडाका सामान उपहार स्वरूप लगिदिने चलनले पनि व्यापार बढेको छ । सोही कारण आफू अल्लोको व्यापारतर्फ आकर्षित भएको लिम्बूले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले दिएको जानकारीअनुसार जिल्लामा २९ वटा अल्लो उद्योग व्यावसायिक रूपमा सञ्चालनमा रहेका छन् । सिलिचोङ गाउँपालिकामा १६ वटा, खाँदबारी नगरपालिकामा ४ वटा, चैनपुर नगरपालिकामा २ वटा, धर्मदेवी नगरपालिकामा ३ वटा, मादी नगरपालिकामा २ वटा, चिचिला र मकालु गाउँपालिकामा १÷१ वटा उद्योग सञ्चालनमा रहेका छन् । जिल्लामा २०४६ सालदेखि व्यावसायिक रूपमा अल्लो खेती गर्न थालिएको हो ।
साबिक बाला, सिसुवाखोला, ताम्कु, माङ्तेवा, याफू, पाथीभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबिसे तथा तामाफोक गाविसका सामुदायिक र राष्ट्रिय वनमा अल्लो प्रशस्त पाइने गरेको छ ।
अल्लोको कोट ३ हजार, टोपी ५ सय, सल ७ सय, चप्पल ५ सय र स्टकोट १ हजार ५ सय ?पैयाँमा बिक्री हुने गरेको छ । मफलर, पर्स, चस्मा राख्ने ब्याग, लेडिज पर्स, लेडिज ब्याग र साइड ब्याग बनाउन पनि अल्लो प्रयोग गरिन्छ । यीबाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गर्ने गरिन्छ ।
जिल्लाका साबिक बाला र सिसुवा गाविसका सबै घरको मुख्य पेशा अल्लोबाट कपडा उत्पादन गर्नु हो । यहाँका ४ सय ५० परिवारको मुख्य आयस्रोत अल्लो नै हो । यहाँका केटाकेटीदेखि वृद्धसम्म बिहान उठेदेखि हाट बजार जाँदा होस् या सबै प्रकारका काम गर्दा हातमा कु?स र अल्लोको जाखिल्मा (कच्चा धागो) बोकेर कपडा बुन्नमा व्यस्त भेटिन्छन् ।
जिल्लामा रहेका अल्लो आश्रित उद्योगले मासिक तलब दिएर झण्डै ९ सय जनालाई रोजगारी दिएका छन् ।
के हो अल्लो ?
अल्लो १ वर्षे बुट्यान हो । यो १÷२ मिटर उचाइको भएपछि काटेर ल्याइन्छ र बोक्रा निकालेर पाट बनाइन्छ । यसरी काटेपछि पुनः रोप्ने काम नगर्दा भने अल्लो मासिने क्रममा छ । यसको संरक्षणमा ध्यान नदिएपछि मासिने क्रम बढेको हो ।
सामुदायिक र राष्ट्रिय वनमा अल्लो सङ्कलनमा रोक लगाएपछि ती वनमा पर्याप्त अल्लो रहे पनि प्रयोगविहीन भएको छ भने अन्य क्षेत्रको अल्लो मासिने क्रममा रहेको हो । अहिले जिल्लाका साबिक मत्स्यपोखरी, तामाफोक, जलजला, सिद्धपोखरी र नुनढाकी गाविसमा सामुदायिक वनको माध्यमले अल्लोको संरक्षण शु? गरिएको छ ।