काबुलः अफगानिस्तानमा राजनीतिकप्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता सुरु भएको छ ।

महिनौँदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ । तर, दुवै पक्षबीच गत वर्षका वार्ताहरुमा आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ, जसलाई सुखद् मानिएको छ । अफगान सरकारका वार्ताकारहरुले स्थायी युद्धविराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेषरुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् । एकजना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले एएफपीसँग भने, ‘‘वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर, हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौँ । किनभने, मानिसहरु यस रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका छन् ।’ तर, तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन ।

महिनौँदेखिको ढिलाइपश्चात् संघर्षरत् पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा सुरु भएको थियो । तर, छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो । अमेरिकी घनीभूत कुटनीतिक प्रयत्नपश्चात् दुवै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो । गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मेभित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता सुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरु, अधिकारवादीहरु र पत्रकारहरु लक्षित आक्रमणहरु भइरहेका छन् । काबुल प्रान्तका डेपुटी गभर्नर, पाँचजना पत्रकार र एकजना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ । अफगान अधिकारीहरुले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् ।

तर, अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिई आएको छ । ‘‘तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थाहरुमाथि योजनाबद्धरुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोसिस गरिरहेको छ,’’ राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जाभिद फैजलले बताए, ‘‘तर, यी हत्याले मानिसलाई अझ बढी एकताबद्ध गराइरहेको छ ।’’ अफगानिस्तान अनुसन्धान तथा मूल्यांकन इकाईका उपनिर्देशक निशंक मोतवानीको भनाइमा तालिबानले औपचारिकरुपमा राजनीतिक हत्याको जिम्मेवारी लिने गरेको छैन । मोतवानीले ‘‘तालिबानीहरु आफ्नो बलियो उपस्थिति दर्शाउन कुनै कसर बाँकी राख्दैनन्’’ भने । तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको अफगानिस्तानका गुप्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताए । गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए । अफगान सर्वसाधारणले राम्रो सुरक्षाको आशा गरिरहेका छन् । तर, वार्ताबेगर तत्काल सुधार हुने अपेक्षा गर्न सकिन्न । ‘‘काबुलमा कुनै सुरक्षा नै छैन । हामीले हाम्रा प्रियजन कतिञ्जेल गुमाउँदै जानुपर्ने हो ?’’ काबुल निवासी जमसिद मोहम्मदले बताए । रासस/एएफपी