इटहरीः मोबाइललगायत इलेक्ट्रोनिक्स सामानमा सरकारले भ्याट रिफन्डमा रोक लगाएसँगै कालोबजारी मौलाउन शुरु भएको छ ।
सरकारको भ्याट रिफन्ड नगर्ने कार्यक्रम कार्यान्वयन भएसँगै नेपाली मोबाइल बजार महङ्गो भएपछि सीमाक्षेत्रका भारतीय बजारबाट मोबाइल तस्करी मौलाएको हो ।
विगतमा सामान भित्रिएबापत सरकारले लिने १३ प्रतिशत भ्याटबापतको ४० प्रतिशत रिफन्ड हुने प्रावधान थियो । तर आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा भ्याट रिफन्डको व्यवस्था हटेको छ ।
भ्याट रिफन्डको प्रावधान अन्त्य भएसँगै त्यसको असर सम्पूर्ण नेपाली बजारमा पर्न थालेको छ । दशैंतिहार लगायत पर्वको समयमा अत्यधिक बिक्री हुने इलेक्ट्रोनिक्स सामानको व्यापार यस वर्ष सुस्ताएको छ । त्यसको असर व्यापारीमा मात्र होइन उपभोक्तामा पनि परेको छ ।
पहिला कम मूल्यमा पाइने सामानको दाम एक्कासी बढ्न थालेको छ । पहिला भ्याट रिफन्डको आशामा कम मूल्य राखेर प्रतिष्पर्धा गर्ने कम्पनीले सामानको मूल्य बढाएका हुन् । नेपाली बजारमा इलेक्ट्रोनिक्स सामानको मूल्यमा वृद्धि भएसँगै सिमाना नजिकका भारतीय बजारमा व्यापार बढ्न थालेको छ । जोगबनीदेखि पानीट्याङ्कीसम्मको क्षेत्रका भारतीय बजारमा ती सामानको बिक्री ह्वात्तै बढेको नेपाली व्यापारी बताउँछन् । जसको प्रत्यक्ष मारमा नेपाली व्यापारी परिरहेका छन् ।
सिधा हिसाबमा भ्याट रिफन्डले सरकारको आम्दानी गुमेको देखिए पनि यसले सरकार देखि जनतालाई समेत घाटा भइरहेको महालक्ष्मी इलेक्ट्रोनिक्स धरानका सञ्चालक भरत अग्रवालको भनाइ छ । नेपाली बजारमा मूल्य बढेसँगै व्यापारमा गिरावट आएको कारण राजस्व गुम्न थालेको उनको भनाइ छ ।
भारतीय र नेपाली बजारमा समान मूल्य कायम गर्ने भ्याट रिफन्ड हटाइए पनि खुला सिमानाको कारण त्यो सम्भव नभएको ए टु जेड मोबाइल केयर विराटनगरका सञ्चालक जगदीश डाँगाको भनाइ छ । पहिले १६ हजार पर्ने मोबाइल अहिले १८ हजारदेखि २० हजारसम्म पर्न थालेको उनी बताउँछन् ।
‘अन्य समयमा घट्दो दरमा रहने मोबाइलको मूल्य यसपालि भने वृद्धि भइरहेको छ,’ उनी भन्छन्, ‘यसको कारण भारतीय बजारबाट नेपाल भित्रिने मोबाइलको दुई नम्बरी कारोबार बढिरहेको छ ।’
भ्याट रिफन्डले सबैभन्दा बढी मोबाइल बजार प्रभावित भएको छ । भारतीय बजारमा सस्तो दरमा पाइने मोबाइलको कालोबजारी फस्टाउन थालेको छ । नेपाली व्यापारीले भ्याट रिफन्ड पाउन छाडेपछि पुरानो मूल्य भन्दा बढाएर सामान बिक्री गर्ने गरेका छन् । जसका कारण विगत वर्षमा भन्दा ४० प्रतिशतले मोबाइल व्यापार कम भएको व्यापारीको भनाइ छ ।