धरानः दशैंमा धरानमा मेला लगाउने विषयमा विगतदेखि विवादित बन्दै अएको विषय अहिले पनि विवादित नै छ । धरान उपमहानगरपालिकाले मेला सञ्चालनको लागि स्वीकृति दिएपछि विवाद झन् बढेको हो ।
धरान उपमहानगरपालिकाको असोज २५ गतेको कार्यपालिका बैठकले रमाइलो मेला लगाउन दिने स्वीकृति दिएपछि त्यसको नेपाली काङ्ग्रेसले चर्को विरोध गरेको हो । धरान–१२ को छिमेकी युवा समूह र धरान–६ को सयपत्री ब्वाइज युनियनलाई मेला लगाउन बैठकले स्वीकृति दिएपछि अहिले विवाद चुलिएको हो ।
नेपाली काङ्ग्रेस धरान नगर समितिले शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी मेला लगाउन दिने कार्यपालिकाको निर्णयको विरोध गरेको छ । दशंै, तिहारको बहानामा लगाइने मेलाले विकृति बढाइरहेको नगर सभापति तिलक राईले बताए । ‘विगतका मेलाले धरानलाई के दियो’, उनले भने, ‘धरानलाई बदनाम गराउने काम भन्दा अरु केही भएन त्यसैले अब रोक्नुपर्छ ।’
रमाइलो मेला लगाउनु राम्रो विषय भए पनि रमाइलो मेलाको नाममा करोडको चलखेल हुने उनले बताए । यस्ता बेथिति रोक्न काङ्ग्रेस सधँै जनताको पक्षमा रहेको उनको भनाइ थियो ।
नगरपालिकाले सर्वपक्षीय छलफलबाट भन्दा पनि बहुमतको घमण्डबाट आफूखुशी निर्णय गरेको उनले आरोप लगाए । नगरपालिकाको नेतृत्वले एकपछि अर्को गर्दै जनताको भावना विपरीत काम गर्दै नीतिगत भ्रष्टाचार गरेको उनले आरोप लगाए । आफ्नो क्षेत्राधिकारभित्र नपरेको विषय पनि जबर्जस्ती निर्णय गर्दै अनियमितता गर्ने गरेको उनको आरोप थियो ।
सामाजिक काम भएकाले स्वीकृति दिइएको होः धरान उपमहानगर
यता, धरान उपमहानगरले भने सामाजिक कार्य गर्ने उद्देश्य अनुरूप प्रस्ताव आएपछि स्वीकृति दिएको दाबी गरेको छ । कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरान–६ का वडाबासीले आफूले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्रीका लागि राख्ने र सामान्य मनोरञ्जनका कार्यक्रम राख्ने प्रस्ताव गरेपछि स्वीकृति दिएको बताइन् ।
मेला सञ्चालनबाट भएको नाफाबाट छिमेकी युवा समूहले एम्बुलेन्स खरिद गर्नको लागि प्रस्ताव गरेको उनको भनाइ छ । कानुनद्वारा वर्जित गरिएका जुवाजन्य खेल तथा मादकपदार्थ राख्न बन्देज गराइएको उनले बताइन् ।
मेलाको बारम्बार अनुगमन गरिने बताउँदै रोक लगाइएका वस्तुहरू राखिएको पाइए कानुबमोजिम कारबाही गरिने सुवेदीले दाबी गरिन् । ‘हामीले कानुनले वर्जित गरेका कुरा नराख्न भनेका छौँ,’ उनले भनिन्, ‘अनुगमनका क्रममा राखेको पाइए तुरुन्त कानुनबमोजिम कारबाही हुन्छ ।’
छिमेकी युवा समूहको स्पष्टीकरण
मेला आयोजक छिमेकी युवा समूहले करिब १ महिना ‘सस्तो बजार तथा सुलभ सांस्कृतिक उत्सव’ लगाउने भएको छ । पब्लिक माविको खेलमैदानमा कात्तिक १ गतेदेखि २८ दिनसम्म मेला लगाउने शुक्रबारको पत्रकार सम्मेलनमा बताइयो । संस्थाले सञ्चालन गर्दै आएको एम्बुलेन्सको मर्मत सम्भार तथा सरकारले वर्गीकरण गरेको सुविधा सम्पन्न एम्बुलेन्स खरिदको लागि पहिलो पटक मेलाको आयोजना गरिएको अध्यक्ष राजेन्द्र राईले बताए ।
‘हाम्रो एम्बुलेन्स पुरानो भइसक्यो । त्यसैले नयाँ खरिदको लागि मेला आयोजना गरेका हौँ’, उनले भने, ‘सरकारले वर्गीकरण गरेअनुसारको करिब १६ लाखको एम्बुलेन्स किन्ने सोचमा छौँ ।’
मेलामा विभिन्न खाद्यवस्तु, मनोरञ्जनपूर्ण खेललगायतका करिब ६० वटा स्टल रहने समूहका सचिव सचेन्द्र राईले बताए । कानुनले रोक लगाएका जुवाजन्य खेल तथा मादक पदार्थ नराखिने उनले स्पष्ट पारे । छिमेकीले वर्षैपिच्छे ‘छिमेकी साँझ’ को आयोजना गर्दै आए पनि यसपटक भने मेलाको समेत आयोजना गरेको उनले बताए ।
यसपटकको २० औं छिमेकी साँझमा गायन प्रतिष्पर्धा समेत गराइने भएको छ । धरान प्रतिष्ठानका निर्णायकको छनोटमा उत्कृष्ट कलाकार छनोट गरिने जनाइएको छ ।
मेलाको अनुगमनका लागि ५ सदस्यीय अनुगमन समिति
मेलाको अनुगमनका लागि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ ।
समितिको सदस्यमा धरान–१२ का वडाध्यक्ष टङ्क राई, धरान–१० का वडाध्यक्ष श्रीप्रसाद सुब्बा, धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई र धरान १ का वडाध्यक्ष रोशन अधिकारी रहेका छन् । यसैगरी, सदस्य सचिवमा शाखा अधिकृत दिवस अधिकारी रहेका छन् ।
अनुगमन समितिले सांस्कृतिक उत्सवको अनुगमनको लागि शुक्रबार विभिन्न निर्णय समेत गरेको छ । समितिका सदस्य सचिव दिवस अधिकारीका अनुसार समितिले प्रत्येक दिन बेलुका अनुगमन गरी सङ्कलन गरेको रायसुझाव नगरपालिकामा पेश गर्ने निर्णय भएको छ ।
अरु बेला २५ रुपैयाँ प्रवेश शुल्क तोकिएको मेलामा राष्ट्रिय कलाकार आएको दिनका लागि भने १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको आयोजकले जनाएको छ । मेला राती ९ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरिएको उनले बताए ।