बेलबारीः तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशको कानुन आफ्नो हातमा लिएर आफ्नो कामलाई सहज बनाउन विभिन्न व्यक्तिलाई विभिन्न क्षेत्रमा नियुत्ति गरे । त्यसमध्येका एक प्रशासक हुन् बेलबारीका कर्णबहादुर धिमाल ।
२०६२ सालमा सेती अञ्चलका अञ्चलाधीश भएका धिमालले आत्महत्या गरेका छन् । मोरङको बेलबारी–२ लालभित्तीमा स्थायी बसोबास गर्दै आएका उनी शनिबार बिहान घरको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
धेरै प्रशासकहरूले समेत कानुन हातमा लिने गर्थे । तर धिमाल भने आफ्नो स्वभाव त्यस्तो नभएको बताउँथे । उनी भन्थे, ‘अरु प्रशासक हुँदा जनता बोल्न डराउँथे । म सेती अञ्चलमा जाँदा म आफैं डराउँथेँ । केही ठेकेदार आएर कुर्सीमा बसेर टेबुलमा खुट्टा राखेर आफूलाई हप्काउने गरेको उनी सुनाउँथे । तिनै धिमालले ६९ वर्षको उमेरमा आत्महत्या गरेका छन् ।
अञ्चलाधीश भएपछि राप्रपाको राजनीतिमा समेत सक्रिय रहेका उनी लामो समयदेखि अशक्त रहे पनि घरमा एक्लै बस्दै आएका थिए । उनका एक छोरा काठमाडांैमा बस्दै आएका छन् । स्थानीय बासिन्दाको रेखदेखमा उनी लालभित्तीमा बस्दै आएका थिए ।
उनले २०३८ सालको आम निर्वाचनमा चर्चित नेता मातृकाप्रसाद कोइरालालाई निर्वाचनमा हराएर सांसद बनेका थिए । तत्कालीन राजा वीरेन्द्रले उनलाई गोर्खा दक्षिण बाहु (दोस्रो) पनि प्रदान गरेका थिए । उनी धिमाल जातीय विकास केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका थिए । उनले आफ्नो शरीर अस्पतालको लागि दान पनि गरिसकेका थिए ।