अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन् । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्यो । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए । त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन् ।
थप सुरक्षा बल तैनाथ
अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन् । उनले ट्वीटमा लेखकी थिइन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन् । हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनस् दोहोर्याउँछौँ ।’ क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो । एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए । त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो ।
कङ्ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो । प्रायः उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए । बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित छ । केही दिनदेखि राष्ट्रपति ट्रम्पले उक्त सत्रको अध्यक्षता गर्ने उप(राष्ट्रपति माइक पेन्समाथि पनि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिइरहेका छन् । तर बुधवार पेन्सले कङ्ग्रेसलाई लेखेको पत्रमा ूकुन इलेक्टोरल मतको गणना गर्नुपर्छ भन्ने निर्णय गर्ने एकाधिकारू आफूसँग नभएको उल्लेख गरेका छन् । तर पनि ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्।
बाइडनले के भने?
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई ूपछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिनू आग्रह गरे । उनले भने, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन् ।’ उनले ूअति भएकोू पनि बताएका थिए । उनले ट्वीट गर्दै पनि ट्रम्पलाई समर्थकलाई उक्त स्थानबाट हटाउन आग्रह गरेका छन् । एउटा अर्को ट्वीटमा उनले क्यापिटल बिल्डिङमा केही व्यक्तिहरूले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिसहरू भएको लेखेका छन् । उनले त्यसलाई देशद्रोह भनेका छन् ।
विरोध प्रदर्शन
प्रदर्शनकारीहरू ूअमेरिकालाई बचाऔूँ र्यालीमा क्यापिटल पुगेका हुन् । त्यहाँ ट्रम्पले उनीहरूलाई जुन सांसदले बाइडनको जितलाई अस्वीकार गरे उनीहरूको समर्थन गर्न आग्रह गरेका थिए । ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गरिरहेका छन् । उनले कुनै प्रमाणविनै चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए ।
ट्रम्पको आग्रह
राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन् । उनले ट्वीट गर्दै ‘क्यापिटल प्रहरीलाई सहयोग गर्नुहोस्’ भनेका छन् । उनले लेखेका छन्, ‘उनीहरू हाम्रो देशकै पक्षमा छन् । शान्ति कायम गर्नुहोस् ।’
ट्रम्पको भिडिओ सन्देश
उक्त घटनापश्चात् ट्रम्पले एउटा भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका छन् । उनले भनेका छन्,‘ूएउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो । त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ । तर अहिले तपाईँहरूले घर जानुपर्छ । हामीले शान्ति कायम गर्नुछ । हामीले कानुन(व्यवस्था कायम राख्नुछ । हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस् ।’ उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीहरूलाई हिंसा नगर्न आग्रह गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजाय दिइनेछ ।’ अमेरिकी सिनेटका केही तस्बिरहरूमा प्रदर्शनकारीहरू सिनेटको चेम्बर नजिकै भेला भएको देखिएको छ । त्यसमध्ये केहीको साथमा हतियार पनि देखिएको छ । यसअघि क्यापिटल प्रहरीले हिंसक झडपपछि अमेरिकी क्यापिटल बिल्डिङमा लकडाउन लागु गरिदिएको थियो ।
केही प्रदर्शनकारी पक्राउ
अमेरिकी राष्ट्रपतीय चुनाव परिणामको विरोध गरिरहेका ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर लगाइएको अस्थायी ब्यारियरहरू तोडेका थिए । केही प्रदर्शनकारीहरू भवनभित्र प्रवेश गर्न प्रयास गरिरहेको पनि देखिएको छ । क्यापिटल प्रहरीले बिल्डिङभित्र प्रवेश गरेका केही व्यक्तिहरूलाई हिरासतमा लिएको छ । केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले बन्दुक ताक्नु परेको थियो । बीबीसीबाट