रायपुरः भारतको छत्तीसगढमा भएको एक विवाहको चर्चा अहिले भारतभर छ । टिकरा लोहंगा गाउँमा स्थानीय चन्दु मौर्यले एउटै मण्डपमा, एकैपटक, दुई युवतीसँग विवाह गरेका छन् ।

चार दिनसम्म चलेको विवाह गत शनिबार सम्पन्न भएको थियो । मुरिया जनजातिका चन्दु भन्छन्, ‘मैले दुवैलाई प्रेम गरेको थिएँ, कसैलाई पनि धोका दिन मन लागेन । मनमा अलि दुविधा भए पनि दुवै प्रेमिका विवाहको लागि तयार भए ।’ उनकी पत्नी सुन्दरी कश्यप र हसीना बघेल पनि विवाह हुँदा एकदमै खुसी छन् । सुन्दरी भन्छिन्, ‘म उहाँलाई मन पराउँथे र उहाँसँगै जीवन बिताउन चाहान्थेँ । पछि हसीना आइन् । उनी पनि चन्दुसँगै बस्न चाहन्थिन् । मलाई त कुनै पनि समस्या छैन । पछि विवाहको कुरा भयो र हामी दुवै चन्दुको श्रीमती बन्यौं ।’ ९ कक्षा पास गरेका २४ वर्षीय चन्दु खेतीकिसानी गर्छन् ।

खेतीको अलावा उनी वनको काठ र दाउरा बजार लगेर बेच्ने गर्छन् । तोकापालको एरन्डवाला गाउँमा एक कामको सिलसिलामा जाँदा तीन वर्ष अघि चन्दुको भेट सुन्दरीसँग भएको थियो । पहिलो भेटमा नै दश कक्षा पास गरेकी सुन्दरीले चन्दुलाई प्रेमप्रस्ताव राखेको चन्दु बताउँछन् । चन्दु आफ्नो गाउँ फर्किएपछि उनीहरूको मोबाइलमार्फत् कुराकानी हुने गथ्र्यो । सुन्दरीसँगकै प्रेम चलिरहेकै बेला चन्दुले आफ्नै गाउँमा नयाँ युवती देखे । ती युवती २० वर्षकी हसीना बघेल थिइन् । करन्जी गाउँकी ९ कक्षा पास गरेकी हसीना टिकरा गाउँमा एक विवाह समारोहमा सहभागी हुन पुगेकी थिइन् । त्यहाँ सामान्य भेट भएका उनीहरुको मोबाइल नम्बर साटासाट गरे । कुराकानीको क्रम बढ्दै गएपछि प्रेम बसेको थियो ।

chhmc

चन्दुले हसीना र सुन्दरीलाई एक अर्काको बारेमा बताएका थिए । चन्दुका अनुसार उनले हसीना र सुन्दरीलाई भेटाए । त्यसपछि तीनैजनााको एक महिनासम्म एकआपसमा कुरा हुन थाल्यो । केही समयपछि हसीना आफ्नो गाउँ छोडेर चन्दुसँग बस्न आइन् । छत्तीसगढमा यो समान्य प्रक्रिया हो । केही सामान्य विधि पुरा गरेपछि युवा–युवती सँगै बस्न पाउने त्यहाँको परम्परा छ । हसीना चन्दुको घर आएको थाहा पाएपछि सुन्दरी पनि चन्दुको घरमा आएकी थिइन् । तर, सुन्दरीको परिवारले पछि उनलाई आफ्नै गाउँ फर्काएर लगेका थिए । तर पछि सुन्दरी भागेर चन्दुकहाँ गइन् । यसपटक भने परिवार आएनन् र सुन्दरी चन्दु र हसीनासँगै बस्न थाले । आफूहरू बस्न थालेको एक वर्षपछि घरपरिवारले पनि विवाह गर्न सुझाव दिए ।

एक वर्षको अवधिमा सुन्दरी र हसीनाले चन्दुसँग मिलेर बस्न सहमत भइसकेका थिए । त्यसपछि विवाहको लागि कार्ड छापियो । कार्डमा एकजना दुलाहा र दुई जना दुलहीको नाम थियो । विवाह हिन्दुसं‍स्कार अनुसार विधि पूरा गरेर गरिएको थियो । विवाहमा हसीनाको परिवार सामेल भए पनि सुन्दरीको परिवार भने सहभागी थिएन । विवाहपछि सुन्दरी भन्छिन्, ‘विवाहबाट म एकदमै खुसी छु, हसीना र मैले घरको काम मिलेर गर्छौं, कुनै कुरामा पनि विवाद हुँदैन ।’ विवाह सम्पन् भएपछि उनीहरुको विवाहले कानूनी मान्यता पाउँछ वा पाउँदैन भन्ने विषयामा अनेक टिकाटिप्पणी सुरु भएको छ । भारतको कानूनले उनीहरुको विवाहलाई कानुनी मान्यता दिने अधिवक्ताहरु बताउँछन् । जनजातीहरुको आफ्नै परम्परा हुने र उक्त परम्परालाई कानूनको मान्यता दिइएकाले उनीहरुलाई कानूनबमोजिम कारबाही हुनेछैन । -एजेन्सी