इटहरीः मोरङको केराबारी गाउँपालिकाले झोलाई सिलाई सम्बन्धी एड्भान्स तालिम सुरु गरेको छ । यो भन्दा अगाडि गाउँपालिकाले सञ्चालन गरेका झोला सिलाई सम्बन्धी आधारभूत तालिममा सहाभागिहरुलाई थप परिकृत गर्न गाउँपालिकाले एड्भान्स तालिम सञ्चालन गरेको हो । गाउँपालिकाको महिला तथा बालबालिका शाखा को आयोजना र वडा नम्बर ७ र सोहि वडामा रहेको क्षमता विकास महिला समुहको सहयोगमा कार्यक्रम भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष शान्ता कुमारी लिम्बू भुजेलले यो भन्दा अगाडि नै पहिलो चरणको आधारभूत झोला बुन्ने तालिम दिएको र त्यो तालिममा सहभागिहरुले त्यो भन्दा बढि सिक्न इच्छा देखाएकाले तालिम सञ्चालन गरिएको जानकारी दिइन् । उनले महिलाहरुको सिप विकासलाई विशेष ध्यानमा राखेर गाउँपालिकाले लक्षित वर्गको बजेटबाट महिलाहरुलाई तालिम दिएको बताइन् । ‘हामीले महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर लक्षित वर्गको बजेटबाट यो तालिम सञ्चालन गरेका हौँ । यो भन्दा अगाडि २०७५ सालमा हामीले यसकै आधारभूत तालिम सञ्चालन गरेका थियौँ । त्यो तालिममा सहभागि हुने अधिकांशले हामीलाई त्यो तालिमले नपुगेको र अझै राम्रो तालिम दिन अनुरोध गर्नुभयो । त्यहि कुरालाई ध्यानमा राखेर हामीले तालिम सञ्चालन गर्यौँ’, उनले भनिन् । साथै यो तालिमले महिलाहरुलाई आर्थिक उपार्जनको लागि सहयोग पुग्ने उनको भनाई छ ।
केराबारी ७ का वडाध्यक्ष नारायण लिम्बूले वडाले अरु योजना जस्तै महिलाहरुको सिप विकासलाई पनि प्राथामिकतामा राखेको जानकारी दिए । वडामा रहेका महिलहरुले थोरै तालिम लिन सके आफ्नै व्यवसाय सञ्चालन गर्ने र सिकेको सिप आरुलाई पनि सिकाउने प्रतिवद्धता व्यक्त गरेकाले वडाले महिला लक्षित कार्यक्रम गरेको उनले जानकारी दिए । यहाँ तालिम लिन आउने महिलाहरु पनि उत्साहित देखिएका छन् । एड्भान्स तालिम लिन आएका अधिकांश महिलाहरु पहिलो चरणको तालिम लिएर हाल व्यवसायीक रुपमै झोला बुन्दै गरेका महिलाहरु रहेका छन् ।

उनिहरुले पहिलो चरणमा झोला बुनाई सम्बन्धि तालिमले आधारभूत कुरा मात्रै सिकेको र त्यसले अहिलेको आधुनिक युगको मागलाई नधान्ने भन्दै एड्भान्स तालिमको माग गरेको बताएका छन् । साथै यो तालिमले आफ्नो आय स्थरमा पनि सुधार हुने उनिहरुको विश्वास रहेको छ ।केराबारी गाउँपालिका वडा नम्बर ७ र क्षमता विकास महिला समुह केराबारी ७ को सहयोगमा महिला तथा बालबालिका शाखा केराबारीले यो तालिम सञ्चालन गरेको हो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिम माग २४ गतेसम्म सञ्चालन हुनेछ ।