धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ का संयोजक भीम आचार्यले कम्युनिष्टको दुई तिहाइको सरकारबाट जनताले विकासको ठूलो अपेक्षा लिएको बताएका छन् ।
शनिबार नेकपा धरानद्वारा आयोजित दशंै, तिहार तथा छठको शुभ–कामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तिनै तहको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बताए । ‘हाम्रो स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले जनताको अपेक्षा, जनताको भावना अनुरूप ठीक ढङ्गले काम गर्नु प¥यो’, उनले भने, ‘हामीले तिनै तहको सरकारलाई सही बाटोमा घच्घच्याइरहनु पर्छ ।’
प्रदेश १ का सांसदसमेत रहेका आचार्यले सङ्घीय, प्रदेश र स्थानीय सरकारले जनचाहनाअनुरूप काम गर्दै विकासको खाडल पुर्नुपर्ने बताए । देशमा रहेका ठूला उद्योग नेपाली काङ्ग्रेसले तहसनहस बनाएर नेपाली जनतालाई बेरोजगार बनाएको उनले आरोप लगाए । त्यसैले पनि अब सरकाले समृद्धिको बाटो पहिल्याएर देशमा रोजगारीको सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
यसको लागि सरकारलाई पार्टीले पनि जिम्मेवार भएर घच्घच्याउनु पर्ने बताए । सबै चाडपर्वलाई साझा रूपमा मनाएर सबैले जगेर्ना गर्नुपर्ने उनको भनाइ थियो । यस्तै, पार्टीका जिल्ला नेता धर्म निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका जिल्ला नेता, स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।