दुहबीः दुहबीमा विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

विपद् जोखिम न्यूनीकरणका लागि लगानी बढाऔं आर्थिक क्षति घटाऔं भन्ने मूल नाराका साथ दुहबी नगरपालिकामा जिल्लाव्यापी कार्यक्रम भएको हो । कार्यक्रम बिहान ८ बजे प्रभातफेरी गरी शुरु भएको थियो ।

दुहबी नगरपालिकाको आयोजनामा भएको प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीलगायतको उपस्थिति रहेको थियो । दुहबी पार्टी प्यालेसमा भएको अन्तरक्रिया कार्यक्रममा जनचेतनामूलक तथा सन्देशमूलक भिडियो देखाइएको थियो । कार्यक्रम सञ्चालन दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए भने स्वागत मन्तव्य दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल (साह) ले गरेकी थिइन् ।