दुहबीः श्री सरस्वती मा.वि. दुहबीका पूर्व विद्यार्थीले सुनसरीको दुहबीमा शैक्षिक गोष्ठीको आयोजना गरेका छन् ।

२०४५ सालको एसएलसीको ब्याचका विद्यार्थीको समूहले कार्यक्रम गरेको हो । ‘शैक्षिक गुणस्तर सुधारका लागि पूर्व विद्यार्थीको भूमिका’ विषयक गोष्ठी आयोजना भएको हो । बडादशैं, शुभदीपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २०२५ सालदेखि २०६० सालसम्मका पूर्व विद्यार्थीले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ र विद्यालयप्रति सबै समुदायको विश्वास कायम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।

पूर्व विद्यार्थी पारस चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई पूर्व विद्यार्थी दीपेन्द्र खतिवडाले सहजीकरण गरेका थिए ।