वासिङटन डीसीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा दोस्रो पटक महाअभियोग प्रस्ताव पारित भएको छ ।

बहालवाला राष्ट्रपतिविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव पारित भएको घटनाले अमेरिकी संसदीय इतिहासमा नयाँ रेकर्ड बनाएको छ । बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थिया् । ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ । गत साता संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाइएको हो। महाअभियोग प्रस्तावमा ट्रम्पकै रिपब्लिकन पार्टीका १० सांसदले मतदान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ । ट्रम्पको कार्यकाल सकिन अब एक साता बाँकी छ ।

माथिल्लो सदन सिनेटबाट महाअभियोग प्रस्ताव पारित हुन केही समय लाग्न सक्छ । ट्रम्पको कार्यकाल सकिए पनि उनीविरूद्धको महाअभियोग सिनेटबाट पनि पारित भए आउने राष्ट्रपतीय चुनावमा उनी सहभागी हुन पाउने छैनन् । यसअघि गत वर्ष पनि ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो । तल्लो सदनबाट प्रस्ताव पारित भए पनि सिनेटले उनलाई सफाइ दिएको थियो । यसपालि सिनेटमा पनि डेमोक्र्याटहरूको बहुमत भएकाले ट्रम्पविरूद्धको महाअभियोग पारित हुने अपेक्षा गरिएको छ । -एजेन्सी