प्राइभेसी पोलिसीमा गरिएको परिवर्तनपछि आलोचना झेलिरहेको ह्वाट्सएप आफ्नो पोलिसी परिवर्तन गर्ने निर्णयमा पुगेको छ ।
कम्पनीले ल्याएको नयाँ प्राइभेसी पोलिसीलाई अहिलेको लागि स्थगित गरिएको छ । यसका साथै कम्पनीले आफ्नो ड्यामेज कन्ट्रोलमा लागेको छ । कैयौंपटक स्पस्टीकरण दिएपछि आइतबार कम्पनी प्राइभेसी पोलिसीको बारेमा प्रयोगकर्तासमक्ष पुगेका छन् । ह्वाट्सएपले पछिल्लो समय आफ्नो प्राइभेसी पोलिसी परिवर्तन गर्दै प्रयोगकर्तालाई नोटिफिकेसन पठाउन थालेको थियो । ह्वाट्सएप प्रयोग गर्नका लागि प्रयोगकर्ताले ८ फ्रेब्रुअरी २०२१ सम्म उसका सम्पूर्ण शर्तहरु पालना गर्नुपर्ने बताइएको थियो ।
त्यसपछि सुरु भएको बहस र चर्को दबावपछि कम्पनीले उक्त पोलिसी नै स्थगित गर्नुपर्ने अवस्थामा आएको हो । कम्पनीले आइतबार चारवटा स्टाटस राखेर प्राइभेसी पोलिसीको बारेमा प्रस्ट पारको छ । ह्वाट्सएपले कम्पनी प्रयोगकर्ताको प्राइभेसी वा निजी जानकारी गोप्य राख्न प्रतिबद्ध भएको जानकारी दिँदै प्रयोगकर्ताको प्राइभेट च्याट र अडियो कसैले पनि पढ्न र सुन्न नसक्ने जनाएको छ । यस्तै कम्पनीले प्रयोगकर्ताले शेयर गरेको लोकेसनलाई ट््रयाक नगर्ने गरेको स्पस्ट पारेको छ ।
त्यसैगरी उसले आफ्नो मातृकम्पनी फेसबुकसँग प्रयोगतकर्ताको सम्पर्कलाई सेयर गर्ने नगरेको पनि जानकारी दिएको छ । प्रयोगकर्ताले कति जानकारी फेसबुकसँग सेयर गर्ने र कति नगर्ने भन्नेबारेमा कम्पनीले दबाब नदिने समेत ह्वाट्सएपले स्पस्ट पारेको छ । -एजेन्सी