काबुलः अफगानिस्तानको सशस्त्र विद्रोही समूह तालिवानले आफ्ना नेताहरूलाई बहुविवाह नगर्न आग्रह गरेको छ ।
तालिवानका प्रमुख मल्ला हैबतुल्लाहले एक विज्ञप्ति जारी गर्दै नेताहरूलाई धेरै महिलाहरूसँग विवाह नगर्न आग्रह गरेका हुन् । बहुविवाह गर्दा शत्रुहरूले प्रोपोगाण्डा गर्ने मौका पाउने हुनाले सचेत हुन उनले अपील गरेका हुन् । दोस्रो विवाह गर्न चाहनेले अब अफगान तालिवान प्रमुखसँग लिखित अनुमति लिनुपर्ने भएको छ । इस्लाम धर्ममा बहुविवाहलाई सजिलै मान्यता दिने गरिन्छ। नेताहरूले बहुविवाह गर्ने गर्दा अत्यधिक रकम खर्च भएको तालिवानले जनाएको छ ।
एकभन्दा धेरै विवाहमा प्रतिबन्ध नै नलगाएपनि तालिवानले आफ्ना नेताहरूलाई बहुविवाह नगर्न र दुस्मनलाई प्रोपोगाण्डा गर्ने मौका नदिन आग्रह गरेको हो । अधिकांश तालिवान नेताहरूले बहुविवाह गरेका छन् । संस्थापक मुल्ला मोहम्मद उमर र उनी पछिका प्रमुख मुल्ला अख्तर मन्सूरले तीन–तीन वटी महिलासँग विवाह गरेका थिए । तालिवानका वर्तमान प्रमुखका दुई पत्नी छन्। दोहामा रहेका तालिवानका सबैभन्दा वरिष्ठ नेता मुल्ला अब्दुल गनी बरादरका तीन पत्नी छन् । -एजेन्सी