काबुलः अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् ।
उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए । गोली प्रहारबाट न्यायाधीशहरुका सवारीचालक घाइते भएका छन् । घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन । आक्रमणका शृङ्खलामा तालिबान विद्रोहीहरूको भूमिका रहेको हुनसक्ने आशङ्का गरिएको छ । तर तालिबानले भने ती घटनाको जिम्मेवारी लिएको छैन । सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङखलाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ गरिएका अमेरिकी सेनाको सङ्ख्या घटाइरहेका बेला पछिल्ला आक्रमण भइरहेका छन् । यसै हप्ता बीबीसीलाई दिएको अन्तर्वार्तामा अफगानिस्तानका उपराष्ट्रपतिले अस्थिर राष्ट्रबाट अमेरिकी सेना फिर्ता हुनुले हिंसाको जोखिम झन् बढाएको बताएका थिए । अफगान सरकार र तालिबानबीच दोहामा शान्ति वार्ता भइरहेका बेला व्यक्ति लक्षित आक्रमणहरू भइरहेका छन् । -एजेन्सी